
दाङ । दुर्गापक्षअन्तर्गत आज पहिलो दिन घरघरमा देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दशैँको शुरुवात भएको छ ।
थारू समुदायमा दशैँ आउनुभन्दा एक महिना अघिदेखि सखिया र झुमरा नाच नाच्ने परम्परा रहेकाले यसको चहलपहल बढेको हो । झुमरा नाचमा दशैँ विशेष विभिन्न सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने चलन रहेको घोराही उपमहानगरपालिका–६ का भीमबहादुर चौधरीले बताउनुभयो ।
थारू जातिको पौराणिक भाषा, वेशभूषा, रहनसहन, संस्कार, कला तथा सांस्कृतिक परम्परा अनुसार सखिया र झुमरा नाच्ने गरिएको भन्दै यसको आफ्नै मौलिक पहिचार र महत्व रहेको उहाँले उल्लेख गर्नुभयो ।
आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले पछि परे पनि सांस्कृतिक हिसाबले थारू जाति अगाडि रहेका चौधरीको भनाइ छ । थारू जातिले माघे सङ्क्रान्तिलाई सबैभन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । साथै अट्वारी, कृष्ण जन्माष्टमी, दशैँ र तिहारलाई पनि धुमधामका साथ मनाउँदै आएका छन् ।
घोराही–१० की गरिमा चौधरी दशेँको तयारीमा जुट्नु भएको छ । उहाँले दशेँलाई चाहिने सबै सामग्रीको बन्दोबस्ती गरिसकेको बताउनुभयो । दाउरा, पात खुटेर दुना, टपरी बनाउनुका साथै धान कुटपिस गरेर राखिएको उहाँको भनाइ छ ।
दशेँमा गाउँघरमा बाहिर गएका सबै आउने र भेटघाट हुने भएकाले रमाइलो हुने बताउँदै गरिमाले दिनभर घरको काम गर्ने र साँझको समयमा ‘सख्या’ नाच नाच्ने गरिएको जानकारी दिनुभयो ।
घोराही–६ का भीमबहादुरले दशैँमा पाठपूजाका साथै ‘सख्या’ नाचको ठूलो महत्व रहेको बताउनुभयो । ‘थारू जातिका युवतीले महाभारतमा आधारित कथालाई गीतको लयमा उनेर सख्या नाच नाच्ने गर्दछन्’ उहाँले भन्नुभयो, ‘युवाको समूहले युवतीले गाएको गीतको लयमा मादल बजाउँछन् । यो नाच कृष्ण जन्माष्टमीको रातदेखि नाच्ने गरिन्छ ।’
महाभारत र कृष्ण लिलामा आधारित कथालाई गीतको लयमा ‘सख्या’ नाच र आफ्नो घरको कुलदेवतालाई पशुपन्छी बलि दिने, ढिक्री चढाउने, बाबरी फूल, मकैको जमरा, रक्सी र जल चढाउने, बेलको हाँगामा ढिक्री फलाउने, कुपिण्डोको भेडा बनाएर देउताको अगाडि बलि दिनेजस्ता धार्मिक काम पनि दशैँमा गरिने भीमबहादुरले जानकारी दिनुभयो ।
थारू समुदायमा नवमी धुमधामका साथ मनाइन्छ । त्यही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने प्रचलन रहेको भीमबहादुरले बताउनुभयो । ‘थारूहरुले नवमीको दिन बिहानै कुलदेवतालाई भेरवा (कुपिण्डोबाट बनाइएको भेडा) र भालेको बलि दिने र त्यसको पित्तर (पिण्ड) दिने चलन छ । त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन्”, उहाँले भन्नुभयो ।
नवमीका दिन थारू युवायुवती रातभर सखिया र झुमरा नाच नाच्ने परम्परा रहेको घोराही–१ का विष्णु चौधरीले बताउनुभयो । ‘परम्परागत चाड दशैँ अरु समुदायले भन्दा थारू समुदायको फरक किसिमले मनाउने गर्दछन् । यो नाचले दशैँको रौनकलाई अझ बढाउने गर्दछ । प्रायः युवकले मादल बजाउने र युवती नाच्ने प्रचलन छ’ उहाँले भन्नुभयो ।
रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचले दशैँको गरिमा र महत्व बढाएको थारू समुदायका अगुवा बताउँछन् । घटस्थापनाका दिनदेखि थारू बस्तीमा रमाइलो सुरु हुन्छ । थारू बस्तीको नाचगान हेर्न गाउँघरबाट सबै जम्मा हुने भएकाले यसले सामूहिक एकतालाई पनि प्रतिनिधित्व गर्ने विष्णुको भनाइ छ ।
बस्तीमा मादल र मञ्जिराको आवाज बज्न थाल्यो
कृष्ण जन्माष्टमीदेखि शुरु हुने सखिया नाचले दशैँ आउन थालेको सङ्केत गर्दछ । अहिले गाउँबस्तीमा मादल र मञ्जिराको सुमधुर आवाजले गुञ्जायमान भएको छ । दशैँ भित्रिएसँगै यहाँका थारू बस्तीमा सखिया नाचको रौनकता छाएको छ । साँझ पर्ने वित्तिकै प्रायः सुनसान हुने थारू बस्तीमा दशैँ आएसँगै अबेर रातिसम्म मादल घन्केर चहलपहल बढिरहेको छ ।
शिवपार्वती, कृष्णलगायत आफ्ना अरू देवीदेवतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको माग गर्ने प्रचलन गरहेको स्थानीय विष्णु चौधरीले बताउनुभयो । करिब १५ देखि २० जनाको समूहमा सखिया नाच्ने युवती फरिया, चोलिया, बुट्टेदार लेहङ्गाका साथै थारू कला र संस्कृति झल्कने गरगहनामा सजिएका हुन्छन् ।
खाना खाइसकेपछि उनीहरु हरेक दिन बस्ती अनुसारको नाचगान गरेर मनोरञ्जन गर्छन् । उनीहरु कुन बेला कस्तो नाच्ने भन्नेमा पनि सचेत छन् । देउताको पूजा गरेर मादल बजाउने वा बन्द गर्ने भन्ने हुन्छ ।
खास गरी थारु बस्तीमा भदौको दोस्रो सातादेखि कात्तिकसम्मको करिब दुई महिना निकै मनोरञ्जन गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन