
इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् ।
सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उहाँहरुलाई आन्दोलनको चासोभन्दा पनि बालबच्चा कहाँ पढाउने भन्ने चिन्ताले पिरोलेको छ ।
‘शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् । हामी त बच्चा पढाउन भारत जानुपर्छ’ माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भन्नुभयो– ‘गाउँमा एउटा विद्यालय छैन । अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पीर कसैले बुझेनन् ।’ उहाँ मात्रै होइन उत्तरी इलामका लेकाली भेगका अधिकांश अभिभावकले बालबच्चा भारतको विभिन्न विद्यालयमा पढाउनुपर्ने बाध्यता छ । यहाँका जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत गाउँका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ ।
विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालयहरु बन्द भएपछि भारतीय सीमावर्ती क्षेत्रका बालबालिका भारतमा पढ्न बाध्य छन् । पातलो बस्ती र जनघनत्व पनि कम भएको यी ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताउनुभयो । ‘घरबाट धाएर पु¥याउँदा टाढा हुन्छ । गत सालदेखि आफू उतै कोठामा बसेर नातिनी पढाइरहेकी छु’ सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६९ वर्षीय निम लमुले भन्नुभयो ।
जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको त्यो विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द गरिएको थियो । ‘सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि विद्यालय स्थापनाको कुनै पहल भएको छैन’ उहाँले भन्नुभयो ।
अहिले यस क्षेत्रबाट करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १८ देखि २० हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बस्नुभएकी डोमा शेर्पाले राससलाई बताउनुभयो । जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिनुभयो । यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषय नेपाली बालबालिकाले थाहा नपाउने लामाको दुखेसो छ । बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् ।
जौबारीको राष्ट्रिय प्राविमा भने एक वर्षअघि सशस्त्र प्रहरी बसेको थियो । विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकार भएका निकायले चासो देखाएका छैनन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै