
काठमाडौँ । दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ शुक्रबारदेखि प्रदर्शन गरिएको छ । आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएको ती दुई चलचित्र फरक विधाका छन् । ती चलचित्रमार्फत तीन नयाँ अनुहार रजतपटमा भित्रिएका छन् । चलचित्र निर्माणको सङ्ख्या वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आगमन बढिरहेको हो ।
दीपक श्रेष्ठले निर्देशन गर्नुभएको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनेत्रीमा रक्षा बुढाथोकी र अभिनेतामा किरण श्रेष्ठले अभिनय प्रारम्भ गर्नुभएको छ । निर्देशक श्रेष्ठले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँ प्रतिभालाई कुनै न कुनै रूपमा अगाडि ल्याइरहेको जानकारी दिनुभयो । ‘नयाँ अनुहारलाई हामीले प्राथमिकता नदिए कसले दिन्छ रु हाम्रो कर्तव्य नै प्रतिभालाई पर्दा अगाडि ल्याउनु हो । यसपटक मुख्य भूमिकामा अधिकांश नयाँ अनुहार हुनुहुन्छ’ उहाँले भन्नुभयो । उहाँ निर्देशित ‘हिम्मत’ मार्फत गायनमा दीपक लिम्बू, ‘पर्खी बसेँ’ मार्फत अभिनेता राजबल्लभ कोइराला र अभिनेत्री युना उप्रेतीलगायतले आफ्नो करिअर सुरुआत गर्नुभएको हो । युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको चलचित्रमार्फत मुख्य भूमिकामा देखिनुभएकी अभिनेत्री बुढाथोकीले आफू उत्साहित भएको बताउनुभयो ।
‘अनुभवी निर्देशकसँग काम गर्दा मैले धेरै कुरा सिक्न पाएँ । यो अनुभव मेरा लागि आउँदो समयमा उपयोगी हुनेछ’ अभिनेत्री बुढाथोकीले भन्नुभयो– ‘अभिनयमा रुचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाबारे खुलेर घरमा भन्न सकेका छौँ । हामीजस्ता नयाँलाई अहिले सहज भएको छ ।’ मण्डला नाटकघरमा सात वर्षमा तेह्र वटा नाटकमा अभिनय गर्नुभएका अभिनेता श्रेष्ठले चलचित्रमा हिरो बन्ने मौका बल्ल प्राप्त भएको बताउनुभयो । ‘रङ्गमञ्चमा गरिरहेको अभिनय र चलचित्रमा भिन्नता हुने रहेछ । मैले नयाँ अनुभव प्राप्त गरेँ । यसले आगामी समयमा नाटकमा पनि मलाई सघाउने छ’ उहाँले भन्नुभयो– ‘म कलात्मक र व्यावसायिक भनिने दुवै चलचित्रमा काम गर्न चाहन्छु । किनकि म हिरो मात्र नभई कलाकार बन्न चाहन्छु ।’
चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईलगायत कलाकारले पनि अभिनय गर्नुभएको छ । आजै प्रदर्शनमा आएको अर्को चलचित्र ‘चित्रा’ मार्फत अभिनेताको रुपमा सन्तोष अधिकारीले यात्रा शुरु गर्नुभएको छ । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहनुभएका उहाँले आफू सुहाउँदो भूमिका पाएकै कारण अभिनयमार्फत अगाडि बढेको बताउनुभयो । ‘मैले केही कार्यक्रम (इभेन्ट) गर्नाका साथै केही चलचित्र पनि निर्माणसमेत गरेँ । साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेरै अभिनय गरे’ अभिनेता अधिकारीले भन्नुभयो– ‘यसमा मैले पिताको भूमिका निर्वाह गरेको छु । पर्दाबाहिर निर्वाह गरिरहेको दायित्वलाई पर्दाभित्र ल्याउन असहज भएन । द्वन्द्वका दृश्यमा भने मेहनत गरे ।’
अभिनेता अधिकारीको प्रवेशले अभिनय यात्रा प्रारम्भ भएको निर्देशक घनश्याम लामिछानेले बताउनुभयो । ‘मलाई चाहिएको पिताको पात्रमा उहाँ भावनात्मक रुपमा समेत जोडिएको पाएँ । उक्त भूमिकालाई न्याय गर्ने भएकाले नै ‘कास्टिङ’ सम्भव भएको हो’ उहाँले भन्नुभयो ।
चलचित्रमा मेनुका प्रधान, शुभेच्छा खड्का, अञ्जना बराइली, अर्पण थापा, सिम्रन खड्का लगायत कलाकारले पनि अभिनय गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आजदेखि शिक्षक आन्दोलनको समय तालिका हेरफेर
- अवरूद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा
- मिनीट्रक दुर्घटना हुँदा डोटीमा तीन जनाको मृत्यु
- युएईका उपप्रधानमन्त्री काठमाडौँमा, आज द्विपक्षीय वार्ता
- ‘आई लभ यू केपी बा’ भन्ने मान्छे खोज्दै हिड्नु देशकै लागि दुर्भाग्य : भुसाल
- कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने
- अझै २०-२५ वर्ष म बिनाको एमाले कसैले कल्पना नगरे हुन्छ: ओली
- चाबी लगाएर आन्दोलनमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन
- विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त
- परीक्षा संचालन गर्न कर्मचारी सहभागी नहुने ट्रेड युनियनको संकेत