
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी राजकुमारी चौधरी दशैँको तयारीमा जुटनुभएको छ ।
उहाँ घर लिपपोत गर्ने, दुनाटपरी बनाउने, कुटानी–पिसानी गर्ने कार्यमा चौधरी व्यस्त हुनुभएको हो । ‘दशैँ आउन केही दिन मात्रै बाँकी छ’ उहाँले भन्नुभयो– ‘वर्षत कारण कार्य गर्न पाएनौँ, अहिले व्यस्तता बढेको छ ।’
सामुदायिक वनबाट सालका पात टिपेर ल्याएकी शान्ता चौधरी दुनाटपरी बनाउने कार्यमा लाग्नुभएको छ । दशैँमा पाहुनालाई परिकार पस्कनका लागि दुनाटपरी बनाउने कार्यमा लागेको उहाँले बताउनुभयो । थारू समुदायले महत्वपूर्ण पर्वका रुपमा दशेँलाई मनाउने गर्दछन् । अधिकांश थारु समुदायले कुटानी–पिसानी गर्ने कार्यसँगै तोरीको तेल पेल्ने कार्य गरिसकेका छन् । नदी, तलाउहरुमा माछा मार्ने थारू समुदायका महिला पुरुषको लर्को नै लागेको छ ।
दशैँमा पाहुना बस्न आएकासँग माछाका परिकार खाइने भएकाले त्यसको जोहो मिलाउनमा थारू समुदाय लागेका छन् । घरमै बनाइएको जाँड तथा रक्सी दसैँमा खाइने भएकाले त्यसको जोहो गर्नमा लागेको स्थानीय गीता चौधरीले बताउनुभयो । ‘घरमै रहेको चामलबाट जाँड र रक्सी बनाउने कार्यमा लागेको छु’ उहाँले भन्नुभयो, ‘बजारको भन्दा घरमै बनाइएको जाँड र रक्सी बढी रुचाइने भएकाले यसकै व्यवस्थामा जुटेको छु ।’ माटो खरिद गरी घरमा ल्याएर लिपपोतको कार्य गरिरहेको स्थानीय सङ्गीता चौधरीले बताउनुभयो ।
‘पहिला सामुदायिक वन र नदी तलाउ क्षेत्रबाट माटो ल्याएर घर लिपपोतको कार्य गर्दथ्यौँ’ उहाँले भन्नुभयो– ‘हाल माटो झिक्न दिँदैनन्, त्यही भएर कालागौंडीबाट एक ट्र्याक्टरको ट्राली माटो खरिद ल्याएका छौँ, त्यही माटोबाट घर लिपपोतको कार्य गरिरहेका छौ ।’ परिवर्तित समयअनुसार धेरै थारू परिवारले पक्की घर बनाएकाले पहिलाजस्तो लिपपोत गर्ने कार्य भने अहिले हुने गरेको छैन । दशैँका लागि बङ्गुर, भेडा, खसीबोका लगायत खरिद गर्न खोज्दै हिँडेको पिपलाडीकै चेतराज चौधरीले बताउनुभयो ।
‘दशैँका लागि आवश्यक पर्ने कुखुरा घरमै छन्’ उहाँले भन्नुभयो– ‘बङ्गुर, भेडा, खसीबोका घरमा नभएकाले खरिद गर्नका लागि गाउँ चहार्दै हिँड्नुपरेको छ ।’ वर्षतका कारण काम समयमै गर्न नपाउँदा छोटो अवधिमा सबै वस्तुको जोहो मिलाउनु परेकाले निकै व्यस्तता बढ्नु स्वाभाविक भएको उहाँले उल्लेख गर्नुभयो ।
दशैँका अवसरमा देखाइने सखिया नृत्यका लागि परम्परागत लेहेङ्गा, चोली बनाउने कार्यमा स्थानीय पुष्पा चौधरी लाग्नुभएको छ । पुरानो चोली, लेहेङ्गालगायत फाटिसकेकाले नयाँ हातैले सिएर बनाउन लागेको उहाँले बताउनुभयो । छुट्टै किसिमको पहिरनले पहिचान झल्काउने भएकाले बूढापाकाहरुबाट सिकेको सीपको सदुपयोग गर्दै लेहेङ्गा, चोली बनाउने कार्य गर्दै आएको उहाँले बताउनुभयो ।
थारू समुदाय दशैँका अवसरमा मीठोमसिनो खाने, नयाँ लुगा लगाउने, परम्परागत नृत्यमा रमाउने गर्दछन् । गाउँका मान्यजन र परिवारका ज्येष्ठ सदस्यबाट चामलको सेतो टीका थापेर थारू समुदायले दशैँमा आशीर्वाद लिने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति