
काठमाडौँ । जापान भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जापानी समकक्षी स्वास्थ्य, श्रम र कल्याणमन्त्री टाकेमी केइजूबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा उहाँहरुबीच नेपाल र जापान सरकारबीच सन् २०१९ मा भएको श्रमसम्बन्धी समझदारी कार्यान्वयनका बारेमा विचारविमर्श भएको छ । मन्त्री भण्डारी र जापनी समकक्षीबीच सो समझदारी कार्यान्वयनका लागि दुई देशका अधिकारी सम्मिलित संयुक्त कार्यसमितिको बैठक बसी निष्कर्षमा पुग्न आवश्यक रहेकामा सहमति जुटेको भ्रमणदलमा सहभागी मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले जानकारी दिनुभएको छ ।
उहाँहरुबीच सामाजिक सुरक्षाका सम्बन्धमा द्विपक्षीय समझदारीमार्फत सहकार्यका लागि गृहकार्य गर्ने समझदारीसमेत भएको छ । त्यस अवसरमा मन्त्री भण्डारीले नेपालबाट जापानमा नेपाली श्रमिक पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भई कार्यान्वयनमा गएको बताउनुभयो । उहाँले इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार विभागमा सूचीकृत र टोकियोस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गरेसँगै नेपाली श्रमिक जापान जाने प्रक्रिया शुरु हुने जानकारी गराउनुभयो ।
जापानी समकक्षी केइजूले नेपालले स्वीकृत गरेको ‘विशेष सीपयुक्त कामदार’ (एसएसडब्लु) सम्बन्धी कार्यविधिको स्वागत गर्दै श्रम क्षेत्रमा नयाँ सहकार्यका लागि आफूहरु आतुर रहेको बताउनुभयो । उहाँले दुई देशबीचको श्रमसम्बन्धी समझदारी कार्यान्वयनमा सहजीकरण गर्न चाँडै नै संयुक्त कार्यसमितिको बैठक बस्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री केइजूले उच्चस्तरमा भएका द्विपक्षीय भेटले नेपालको बेरोजगारी समस्या व्यवस्थापनमा टेवा पुग्ने र जापानमा रहेको श्रमिक अभावमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
नेपाली श्रमिकको भिसा सहजीकरणमा अनुरोध
यसैबीच मन्त्री भण्डारी र जापानका न्यायमन्त्री रेयुजी कोइजुमीबीच भेटवार्ता भएको छ । त्यहाँको न्याय मन्त्रालयमा भएको भेटमा उहाँले उच्चस्तरका भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस क्रममा मन्त्री भण्डारीले जापानमा नेपाली श्रमिकको ‘डिपेन्डेन्ट भिसा’सम्बन्धी समस्या सहजीकरण गर्न र जापानी भाषा परीक्षा केन्द्र बढाउन आग्रह गर्नुभएको थियो । जापानी न्यामन्त्रीले उक्त विषय सम्बोधन गर्न आफूले काम गर्ने विश्वास दिलाउनुभयो ।
भेटवार्तामा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र नेपाली प्रतिनिधिमण्डलका सदस्य सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति