+

‘शैक्षिक प्रणालीलाई सुधार गर्नुपर्ने’

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक प्रणालीलाई  सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्ने बताउनुभयो । नमूना बनाएका विद्यालयको नतिजा खस्कँदै गएको उहाँको भनाइ छ । ‘हामीले नै नमूना बनाएका विद्यालयको नतिजा खस्कँदै जानुमा हामीबाहेक अरु जिम्मेवार छैन । यसको गम्भीर समीक्षा गर्दै शैक्षिक प्रणालीलाई  सुधार गर्न हामी तयार छौँ’ उहाँले भन्नुभयो । 

उहाँले विद्यालय शिक्षा ऐन छिटो पारित गर्न पहल गरिरहेको  बताउनुभयो । मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कार्यान्वयन गर्न कार्यान्वयन ढाँचा तयार गरेको जानकारी दिनुभयो । 

‘स्थानीय विद्यालय नक्साङ्कन गरी विद्यालयको सेवा क्षेत्र तोक्न तथा स्थानीय तहभित्रका बालबालिकाको आधारभूत शिक्षासम्म पहुँचको अवस्था  यकिन गर्न कार्यान्वयन ढाँचा विकास गरिएको हो’ उहाँले भन्नुभयो– ‘यसअनुसार स्थानीय तहबाट शिक्षा योजना निर्माण गर्ने तथा तीनै तहका सरकार र गैरसरकारी क्षेत्रसँग साझेदारीको ढाँचा विकास गरी शिक्षा कोषको स्थापना गरेर शिक्षा प्राप्तिको हकलाई प्रभावकारी बनाइने छ ।’

मन्त्री भट्टराईले शिक्षाको पहुँचका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउँदै अनुगमन सूचक तयार गरी त्यसको प्राप्तिका लागि समुदाय परिचालन र अभिभावक सहयोगलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षकलाई मासिक पारिश्रमिक प्रदान गर्न सबै स्थानीय तहलाई अनुरोध गर्नुभयो । 

मन्त्री भट्टराईले  विद्यालयमा विद्यार्थीको पहुँच बढाउन र साक्षर नेपाल बनाउने अभियानका लागि बालविकास केन्द्रको सबलीकरण आवश्यक रहेको बताउनुभयो । बालविकास केन्द्रमा सिकाउने शिक्षकका समस्या समाधान गर्न स्थानीय तहले योजना बनाउनुपर्नेमा उहाँको जोड छ ।  

उहाँले विद्यालयमा दिवा खाजाको व्यवस्था अपुग रहेको भन्दै यसलाई  व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित दिवा खाजाको प्रारूप तयार पारिएको जानकारी दिनुभयो  । 

‘विद्यार्थीको ठूलो सङ्ख्या कक्षा तहभन्दा तल छन् र यसले अपेक्षित पाठ्यक्रम र प्राप्त पाठ्यक्रमबीच खाडल देखाएको छ’ उहाँले भन्नुभयो– ‘विद्यालयको प्रकारअनुसार उपलब्धिमा असमानता छ । विद्यार्थीको शैक्षिक उपलब्धि र सामाजिक–आर्थिक स्थितिबीचको सम्बन्ध सकारात्मक छ, तर यसको परिमाण विषयअनुसार भिन्न छ ।’

 मन्त्री भट्टराईले पाठ्यक्रम सुधारको योजना बनाउन थालिएको जानकारी दिनुभयो । उहाँले पढेरभन्दा गरेर व्यवहारमा सिक्ने पक्षको मूल्याङ्कन गर्ने योजनाले विद्यार्थीको नतिजास्तर उक्सिने बताउनुभयो ।  शिक्षा सचिव डा दीपक काफ्लेले शिक्षाको गुणस्तर सुधार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । 

त्यस अवसरमा विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस वर्षको दिवसको नारा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः प्रणालीगत सक्षमता’ रहेको छ । सरकारले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ जारी भएको दिनको सम्झनामा आज शिक्षा दिवस मनाउन थालेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट