
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त जनउत्तरदायी बनाउनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जनकपुरधाममा आज आयोजित भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०८१ सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिँहले सुशासन, विकास र समृद्ध प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो । राज्यबाट प्राप्त हुने सेवासुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री सिँहले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएकाले नेपालका तीनै तहका सरकारले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्न प्रदेश सरकारले नीतिगत, कानुनी र संस्थागत कार्य गर्ने बताउनुभयो ।
सबै किसिमका भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रण गरी नैतिकतामा आधारित समाजको स्थापना गर्नु चुनौतीपूर्ण रहेको भन्दै उहाँले सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त र प्रभावकारी बनाउन अधिकतम साधनस्रोत तथा संयन्त्र परिचालन गर्ने बताउनुभयो ।
मुख्यमन्त्री सिँहले भ्रष्टाचार हुने सम्भावना न्यून गर्न प्रदेश सरकारले जोखिमपूर्ण क्षेत्रको पहिचान गरी सेवाग्राहीको बढी चाप हुने कार्यालय तथा निकायमा सिसिटिभी जडान, सार्वजनिक निकायका लागि विनियोजित बजेट एवम् खर्च तथा प्रगतिको विवरण सार्वजनिक गर्ने परिपाटी विकास, सार्वजनिक पदाधिकारीमा सदाचार, इमान्दारी र जिम्मेवारीको भावना विकास गर्न आचारसंहिता निर्माण तथा तिनको कार्यान्वयन गर्नेजस्ता काम गरिरहेको प्रस्ट गर्नुभयो ।
कर्मचारीको हाजिरी तथा कामकाजको छड्के अभियानलाई आफूले केही समययता तीव्र पारेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले सरकारी कामकाजमा ढिलासुस्ती गर्ने कर्मचारीविरुद्ध कारबाही गर्न आफू पछि नपर्ने बताउनुभयो । उहाँले सार्वजनिक खरिद ऐनका जटिलता सरलीकृत गरिनुपर्ने भन्दै सुशासनलाई टेवा दिन ऐनका प्रावधान विपरीत काम नगर्न कर्मचारीलाई निर्देशन दिएको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव राजेन्द्र थापाले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेश तथा स्थानीय तहका पदाधिकारीको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति