
काठमाडौँ । प्रतिनिसभाको आजको बैठकमा सांसदहरुले मनसुन लगायतका विपद्बाट आम नागरिकलाई जोगाउनका लागि पूर्वतयारी, उद्धार तथा राहतको विशेष प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले मनसुन शुरु भएकाले पूर्वतयारीसँगै आवश्यक अन्य प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको हो ।
सांसद देवेन्द्र पौडेलले केही वर्ष पहिले बागलुङको भुजीखोला क्षेत्रमा बाढीपहिरोका कारण प्रभावित भएका नागरिकले हालसम्म पनि राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बद्रीप्रसाद पाण्डेले यसवर्ष अधिकभन्दा बढी वर्षा हुने प्रक्षेपण आएकाले विपद्विरुद्ध जुध्न सरकारको तयारी कमजोर रहेको उल्लेख गर्नुभयो ।
सांसद विनिता कठायतले देशभित्र मनसुन भित्रिइसकेको अवस्थामा कर्णाली प्रदेशका विकट क्षेत्रका जनधनको सुरक्षाका लागि सरकारको तर्फबाट के कस्तो तयारी भइरहेको छ ? भन्ने जिज्ञासा राख्नुभयो । सांसद धवलशमशेर राणाले लक्ष्मणपुर बाँधका कारण बर्सेनि नागरिक प्रभावित भएको उल्लेख गर्दै वर्षायाममा बाँध खुलै राख्ने व्यवस्थाका लागि कूटनीतिक पहल गर्न माग गर्नुभयो ।
सांसद डिगबहादुर लिम्बूले मोरङको लेटाङ क्षेत्रमा जग्गाको कित्ताकाट रोकिँदा स्थानीय समस्यामा परेको बताउनुभयो । उहाँले सुकुम्बासीलाई तत्काल लालपुर्जाको प्रबन्ध गर्न पनि माग गर्नुभयो ।
सांसद तारा लामा तामाङले कञ्चनपुरमा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले दुःख पाएका उल्लेख गर्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
सांसद तोसिमा कार्कीले असार लागेपछि कालोपत्रमाथि कालोपत्र थप्ने क्रम सहरी क्षेत्रमा बढेपनि डोटी, डडेल्धुरालगायतका जिल्लाका विभिन्न आयोजना अलपत्र परेका विषयमा सरकारको ध्यानाकार्षण गराउनुभयो । सांसद दीपकबहादुर सिंहले बजेट विनियोजन असमान रहेको गुनासो गर्नुभयो । सांसद दीपा शर्माले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला–टिङ्कर नाका खुला भएकामा सरकारलाई धन्यवाद दिँदै मानसरोवर पुग्नेहरुको सहजीकरणका लागि अध्यागमन कार्यालय स्थापनाको माग गर्नुभयो । सांसद धुव्रबहादुर प्रधानले अन्तर्राष्ट्रियस्तरमा क्रिकेट खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनप्रति प्रशंसा गर्नुभयो ।
सांसद नागिना यादवले तराई(मधेसमा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले मनसुन सुरु भइसकेकाले विपद्बाट जोगाउनका लागि पूर्वतयारीको प्रबन्ध के–कसो भइरहेको छ भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणप्रसाद आचार्यले पाल्पामा खानेपानी आयोजना अलपत्र रहेको भए पनि बजेट विनियोजनामा सरकारले ध्यान दिन नसकेको बताउनुभयो । सांसद नारायणी शर्माले खेतीपातीको याम सुरु भइसकेकाले रासायनिक मलको उचित प्रबन्ध गर्न माग गर्नुभयो ।
सांसद निर्मला कोइरालाले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकको भीड बढेको र उनीहरु समस्यामा परेकाले त्यसलाई सहजीकरण गर्न माग गर्नुभयो ।
सांसद निशा डाँगीले नेपालमा वनजङ्गल उल्लेख्य भए पनि बर्सेनि ठूलो मात्रामा काठ तथा काठजन्य वस्तुको आयात भइरहेको तथ्य पेस गर्नुभयो । सांसद प्रदीप पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रधानमन्त्रीले सदनलाई किन जानकारी नगराएको भन्दै प्रश्न गर्नुभयो । सांसद प्रेम सुवालले अखाद्य आँपको बिक्री वितरण भइरहेकाले त्यसको नियन्त्रण गर्न माग गर्नुभयो । सांसद विमला सुवेदीले फोहर व्यवस्थापनका लागि यथेष्ट बजेट विनियोजन नभएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।
सांसदहरु तेजुलाल चौधरी, दिक्पालकुमार शाही, दुर्गा राई, प्रतिमा गौतम, प्रभु हजारा, वासुदेव घिमिरे, बिनादेवी, दामोदर पौडेल लगायतले समसामयिक राजनीतिक विषय र स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन