
कैलाली । गहुँ बाली भित्र्याएसँगै किसान बर्खे बाली अर्थात् धान बालीको तयारीमा जुटेका छन् । धानको ब्याड राख्ने समय भएपछि सिँचाइको कुलो मर्मतसम्भारमा किसान जुटेका हुन । यतिबेला रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तीनै कुलोका किसानको खेतसम्म पुग्ने सिँचाइ कुलोको मर्मतसम्भारमा किसानले जनश्रमदान गर्दै आएका छन् ।
केही दिनदेखि टीकापुरका विश्राम चौधरी पनि कुलो मर्मतसम्भारका लागि जनश्रमदानमा व्यस्त हुनुहुन्छ । गाउँका अन्य किसानसँगै जमरा कुलोको पानी खेतसम्म पुर्याउनका लागि सिँचाइ कुलो मर्मतसम्भारमा लागिएको उहाँले बताउनुभयो । ‘वर्षेनी बर्खा शुरु हुनुभन्दा पहिले गाउँका सबै किसानको सहभागितामा आफ्नो क्षेत्रको किलो मर्मतसम्भार गरेर खेत सिँचाइका लागि पानी ल्याउने चलन रहेको छ’ विश्राम भन्नुहुन्छ– ‘गाउँको बडघरको नेतृत्वमा सबैको उपस्थिति हुने हुँदा काम छिटोछरितो र रमाइलोसँगै काम पनि हुन्छ, यो एउटा हाम्रो परम्परा जस्तो पनि बनिसकेको छ ।’ जनश्रमदानमा सहभागी हुन नसक्ने किसानले जरिवाना तिर्नुपर्ने चलन गाउँमा रहँदै आएको उहाँ बताउनुहुन्छ ।
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले यसअघि नै मुख्य कुलोमा पानी छाडिसकेको छ । मुख्य कुलोबाट किसानको खेतसम्म पुग्ने सिँचाइ कुलो मर्मतसम्भार गरेर किसान धानको ब्याड राख्ने तयारीमा रहेको कृषक मोतिलाल चौधरीले बताउनुभयो । ‘हाम्रा लागि बर्खा शुरु भइसकेको छ, धानको ब्याडका लागि अधिकांश किसानले तयारी गरेका छन्, त्यसैको सिँचाइका लागि सामूहिक श्रमदानमा सिँचाइ कुलोको मर्मतसम्भार गरेर पानी ल्याउने काम भइरहेको छ’ उहाँ भन्नुहुन्छ– ‘सिँचाइको सुविधा भएपछि केही दिनभित्रै किसानलाई खेतको काममा भ्याइनभ्याई हुन्छ ।’
कुनै समय कैलालीका किसान सिँचाइका लागि महिनौँ कर्णाली नदीको मुहानमै बसेर काम गर्दै आएको इतिहास धेरै भएको छैन । पूर्वी कैलालीका अधिकांश स्थानीय सिँचाइका लागि कुलोमा पानी ल्याउनकै लागि कर्णाली नदीमा महिना दिन बिताउने गर्थे । त्यो बेला रानी जमरा कुलरिया कुलोमा पानी ल्याउन हजारौं किसान दिनरात कर्णाली नदीमा बस्ने गर्थे । ‘त्यो बेला हरेक घरबाट एकजना सिँचाइका लागि पानीको मुहान फर्काउन अनिवार्य थियो, हजारौँको सहभागितामा कर्णालीको पानी सिँचाइका लागि ल्याइन्थ्यो’ स्थानीय बन्धु चौधरी भन्नुहुन्छ– ‘त्यो बेलाको स्थिति हेर्दा अहिले किसानलाई दुःख नै छैन, प्रविधिको प्रयोग र राष्ट्रिय गौरवको आयोजनाले किसानलाई धेरै सहज बनाएको छ ।’
रानी जमरा कुलरिया सिँचाइ आयोजना सुरु भएपछि सिँचाइका लागि किसानलाई कर्णाली नदीसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । मुख्य कुलोबाटै काम गर्नुपर्ने बाध्यतामा रहेका किसान आयोजना शुरु भएपछि मुख्य कुलोको सहायक कुलोबाट सिँचाइ कुलो मात्रै किसानले मर्मतसम्भार गर्नुपर्छ । त्यतिमात्र नभई किसानलाई आवश्यक मात्राको पानी कुलोमा ल्याउन मिल्ने भएपछि कुलो समितिले मात्राअनुसार पानी छाड्ने गरेको छ । बढी भएको पानी कर्णाली नदीमा फर्काउने व्यवस्था मिलाइएको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको ७२ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाले काम सम्पन्न गरेपछि किसानले बाहै्र महिना सिँचाइ सुविधा पाउनेछन् । आयोजनाका सूचना अधिकारी नवीन पौडेलका अनुसार जमरा कुलोको काम अन्तिम चरणमा रहे पनि रानी कुलोको काम अहिले पनि ३० प्रतिशत सम्पन्न भएको छ । उता कुलरिया कुलाको ५० प्रतिशत काम सम्पन्न भएको सूचना अधिकारी पौडेलले बताउनुभयो । ‘समग्रमा आयोजनाको ७२ प्रतिशत काम सम्पन्न भए पनि जमरा कुलोको काम सम्पन्न हुने अवस्थामा पुगेको छ’ उहाँ भन्नुहुन्छ– ‘बाँकी रानी र कुलरियाको काम सुरुमा प्राविधिक समस्याले ढिला भए पनि अहिले कामले गति लिएको छ ।’ नेपाल सरकार स्वीकृत खरिद योजनाअनुसार आगामी असारमा सम्पन्न हुने भनिए पनि पुनः एक वर्ष थप भएर २०८१÷८२ मा सम्म कायम गरिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !