
खोटाङ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दैगर्दा लडेर गम्भीर घाइते बनेका सूचनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
भीरबाट लडेपछि उपचारका लागि बेलुकी ६ः३० बजे जिल्ला अस्पताल खोटाङ पु-याइएका सूचनलाई चिकित्सकले ७ः४० बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । मृतक सूचनको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
दिक्तेलस्थित हाटडाँडा बस्दै आएका सूचन बिहीबार बेलुकी पख साथीहरुसँग रक क्लाइम्बिङ गर्न मझुवागढी भीर पुगेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत चैतमा आयोजना गरेको रक क्लाइम्बिङ सम्बन्धी ६ दिने तालिममा समेत सहभागी भएका सूचन के कारणले लडेको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
करिब ३२ मिटर अग्लो मझुवागढी भीरमा नेपाल नेसनल माउन्टेन गाइडले रक क्लाइम्बिङ निर्माण गरिदिएको छ । किराँत ऐतिहासिकस्थल मझुवागढी क्षेत्रमा पर्ने मझुवागढी भीरमा रक क्लाइम्बिङको परीक्षण सफल भएको नगरपालिकाले जनाएको थियो । तालिममा सातजना स्थानीय युवा र सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गुल्म खोटाङका पाँचजना गरी १२ जना सहभागी भएका थिए । रक क्लाइम्बिङ परीक्षणका लागि नेपाल नेसनल माउन्टेन गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक सङ्घका निवर्तमान अध्यक्ष लाक्पा शेर्पा पनि आउनुभएको थियो ।
कृत्रिम भीरभन्दा प्राकृतिक भीरमा रक क्लाइम्बिङ गर्न रुचाउने भएकाले यो उपयुक्त थलो भएको शेर्पाले बताउनुभयो । पछिल्लो समय युवा पुस्ता यसप्रति आकर्षित हुँदै जानुका साथै पर्यटन विकासमा पनि यसले सहयोग गर्ने भएकाले रक क्लाइम्बिङ लोकप्रिय बन्दै गएको शेर्पाको भनाइ छ ।
साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रक क्लाइम्बिङ सञ्चालनको सुरुवात गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । परीक्षणकै क्रममा सूचनको लडेर मृत्यु भएपछि नगर प्रमुख लगायत जनप्रतिनिधिको आलोचना शुरु भएको छ ।
किराँत ऐतिहासिकस्थल मझुवागढीलाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न नगरपालिकाले ‘फूलैफूलको पहाड’ सँगै रक क्लाइम्बिङस्थल बनाउने योजना अन्तर्गत वर्षेनी बजेटसमेत विनियोजन गर्दै आएको छ । मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका साथै रक क्लाइम्बिङका लागि यस वर्ष कोशी प्रदेश सरकारले रु एक करोड ५३ लाख बजेटसमेत विनियोजन गरेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा वि सं। १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज (पिकनिक) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने लगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा