
म्याग्दी । म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुबेसीबाट ताल जोड्ने पदमार्ग निर्माण गरेको हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चित उक्त ताल मालिका–६ र मङ्गला–२ को सिमानामा पर्दछ । गाउँपालिकाका रोजगार सहायक मिलन शर्माले १३ लाख ५० हजार रुपैयाँमा दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण भएको जानकारी दिनुभयो । ‘पदमार्ग नहुँदा जोखिम मोलेर ताल र मन्दिरमा जानुपर्ने अवस्था थियो’ उहाँले भन्नुभयो– ‘पदमार्ग बनेपछि हिँडेर सहजै ताल भएको स्थानसम्म पुग्न सकिन्छ ।’
चालु आर्थिक वर्ष २०८०र ८१ मा विनियोजन भएको रु चार लाख ५० हजार बजेटबाट सात जना सूचीकृत बेरोजगारसहित ५० जना कामदार परिचालन गरेर भिरमा सिँढीसहित पाँच सय ५० मिटर लामो पदमार्ग निर्माण भएको छ । यसअघि आव २०७७ र७८ र आव २०७८र७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ९ लाख रुपैयाँमा साढे १ किलोमिटर पदमार्ग निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।
घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ । झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ । यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ । दुवैतिर घना जङ्गल छ ।
झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ । यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका–६ दुखुबेँसीका बासिन्दा एवं पदमार्ग निर्माण समितिका अध्यक्ष गङ्ग रोकाले बताउनुभयो ।
‘यो तालको सिरानमा रहेको मन्दिर वरिपरिको जङ्गली क्षेत्रमा बिहान उज्यालो नहुँदै कुखुराको भाले कहाँबाट आउँछ बास्छ अनि उज्यालो भएपछि त्यो भाले कहाँ जान्छ भन्ने विषयमा कसैलाई जानकारी छैन’ उहाँले भन्नुभयो, – ‘मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ ।’
‘किंवदन्तीअनुसार दुई शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइले भरिया लिएर ताल अवलोकन गर्न गएछन् । ताल नजिकै एउटा घर देखेर राति त्यही विश्राम गरेछन् । बिहान कुखराको भाले बासेकोे आवाजले उनीहरु ब्युँझिँदा दुवै जना ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाएछन् । आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर घटना सुनाएपछि सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ । ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइ छ’ समितिका अध्यक्ष रोकाले भन्नुभयो ।
बेनीबाट करिब एक घण्टामा सवारीसाधनमार्फत सहस्रधारा पुगिन्छ । सहस्रधारा, दुखुबेँसी, दरुङ गाउँबाट करिब एक घण्टा पैदलयात्रा गरेपछि यो ताल पुग्न सकिन्छ । जङ्गल विस्तारका कारण वरिपरिको क्षेत्रबाट देख्नै नसकिने र कठिन पहरोलाई छिचोलेर पुग्नै नसकिने भएपछि ताल खुम्चिँदै गएको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।
भाले बास्ने तालको संरक्षण गरेर यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । पदमार्ग निर्माणसँगै पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार हुँदै जाने वडाध्यक्ष रोकाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै