
काठमाडौँ । बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई यस वर्ष व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गर्ने भएको हो ।
स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गर्न लागेको काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।
महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । समितिले मन्दिर आसपासका अस्थायी पसल हटाउने, माग्न र दान गर्न निषेध गरेको छ । भीड व्यवस्थापनका लागि जथाभावी भोजन दान गर्न नपाइने र तोकिएको स्थानबाट मात्र दान गर्नुपर्ने नियम बनाइएको छ ।
थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट करिब दुई लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिका महासचिव अशोक बुद्धाचार्यले जानकारी दिनुभयो । जेठ १० गते वैशाख पूर्णिमा तथा बुद्ध जयन्ती परेको छ ।
स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्त प्रमुख पूर्णिमा चन्दले उक्त मेलामा आउने भक्तजन तथा सर्वसाधारणको सुरक्षालाई दृष्टिगत गर्दै सुरक्षाकर्मी थप गरिएको बताउनुभयो । उहाँले सडकको ट्राफिक जाम व्यवस्थापन गर्न त्यस क्षेत्रमा सवारीसाधन निषेध गरी वैकल्पिक सडकको प्रबन्ध गरिने बताउनुभयो ।
यसवर्ष महायानी धर्मावलम्बीले साकादावा पर्व त्यही दिन मनाउने भएकाले दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । महायानी परम्पराअनुसार साकादावा पर्वलाई पवित्र महिनाका रुपमा लिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा