
काठमाडौँ । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताउनुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजनामा हिजोदेखि शुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीअन्तर्गत आज दोस्रो दिन ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास नेपालको सम्भावना’ विषयको कार्यपत्रमाथि टिप्पणी राख्दै उहाँले सहकारीको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक तत्काल आवश्यक रहेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री डा खतिवडाले सहकारीको समस्या समाधानमा कुनै पनि निकाय जिम्मेवार नबनेको धारणा समेत राख्नुभयो । बैङ्कहरु समस्यामा पर्दा र तरलताको अभाव हुँदा ढुकुटी खोलेर बजारमा पैसा पठाउँछन्, अहिले सहकारीहरु समस्यामा छन् । सहकारीका समस्या समाधान गर्न कुनै पनि निकाय जिम्मेवार भएर लागेका छैनन्’ उहाँले भन्नुभयो ।
डा खतिवडाले सहकारीमा स्वायत्तता तथा स्वनियमन भनेर समस्या सिर्जना हुनाका साथै वर्तमान सङ्कट देखिएको बताउँदै अब दोस्रो तहको नियामक अतिआवश्यक रहेको धारणा राख्नुभयो । उहाँले बैङ्कको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयमाथि पनि प्रश्न गर्नुभयो ।
‘हामीले आफैँ काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो । सहकारीमा स्वायत्ततासँगै जवाफदेहिताबाट हुनुपर्छ । अराजकताले सङ्कट ल्याउँछ, तसर्थ, अराजकता अन्त्यका लागि दोस्रो तहको नियामक अतिआवश्यक छ’ डा खतिवडाले भन्नुभयो । उहाँले अहिले सहकारीमा विशेष प्रकारका चुनौती रहेको भन्दै ती चुनौतीको सामना गर्न कानुनको परिपालना आवश्यक रहेको बताउनुभयो । सहकारी वित्त कम्पनीसरह चलेकाले पनि समस्या सिर्जना भएको उहाँको भनाइ छ ।
विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेसनल एडभोकेसी एन्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दिगोपनाका लागि संस्थाको लेखा सुपरिवेक्षण समिति बलियो हुनुपर्ने बताउनुभयो । विश्व ऋण परिषद्का लागि अन्तर्राष्ट्रिय वकालत तथा सल्लाहकारका रूपमा काम गर्दै आउनुभएको उहाँले लेखा सुपरिवेक्षण समितिमा कार्यरत व्यक्ति आफैँमा योग्य हुनुपर्ने धारणा राख्नुभयो । ‘योग्य व्यक्तिबाट नेतृत्व गर्दा संस्थामा दिगोपना र स्थायित्वमा स्थापन हुँदै जानेछ’ उहाँले भन्नुभयो ।
हर्नले लेखा सुपरिवेक्षण समितिले सहकारीको सञ्चालक समितिलाई पनि सही किसिमले सल्लाह दिएर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । सहकारीमा वित्तीय साक्षरता, नीतिनियमको परिपालना र सदस्यमा विश्वसनियता आवश्यक हुने धारणा राख्नुभयो ।
‘लेखा सुपरिवेक्षण समिति स्वतन्त्र निकाय हो, यसको आफ्नै जिम्मेवारी र भूमिका हुन्छ । धेरै देशमा सहकारी संस्थाका फरक–फरक अभ्यास हुन्छन्, लेखा सुपरिवेक्षण समिति र सञ्चालक समिति एक अर्काका परिपूरक भए पनि सञ्चालक समितिभन्दा लेखा सुपरिवेक्षण समिति थप बलियो हुनुपर्छ’ उहाँले भन्नुभयो ।
हर्नले कार्यपत्र प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय अभ्यास जानकारी गराउनुभयो । आन्तरिक तथा बाह्य लेखा परीक्षकको परिवर्तन गरिनुपर्ने, सञ्चालक समितिको बैठकमा लेखा सुपरिवेक्षण समितिको सुझाव छलफल गर्नुपर्ने र समितिका प्रतिवेदन परीक्षण गरिएको तथा आवश्यक सुधार गरिएको सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आजको कार्यक्रमको अध्यक्षता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका निवर्तमान अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै