
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ । पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको त्यो खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताउनुभयो । ‘विसं २०७३ मा शुरु भएको निर्माणले अझै पूर्णता पाएको छैन’ उहाँले भन्नुभयो– ‘पछिल्लो डेढ वर्षयता निर्माण कार्य झनै सुस्त बनेको छ ।’
लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न विसं २०७२ मा तामाङ–गौरी–पार्वती–कोशी एन्ड न्यौपाने जेभीले २६ करोड रुपैयाँमा ठेक्का लिएको हो ।
धुलोमा गाडी फस्ने, उकालो, साँघुरो ठाउँमा सवारी साधन वारपार गर्न समस्या हुँदै आएको स्थानीय बताउँछन् । चराङमा कुलो र ढलको काम बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी रहेको आयोजना प्रमुख ध्रुवकुमार झाले जानकारी दिनुभयो । सडक छेउमा अलपत्र छाडिएका निर्माण सामग्रीले आवतजावत गर्न समस्या बनाएको स्थानीयले गुनासो गरेका छन् ।
विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्यसहित आयोजना सञ्चालन भएको हो ।
आयोजना प्रमुख झाले निर्माण कम्पनीलाई काममा फर्काउन पत्राचार र मौखिक रुपमा ताकेता गरिएको बताउनुभयो । ‘ठेकेदारले मेसिन मर्मत गरेर केही दिनमै काम शुरु गर्ने प्रतिबद्धतासहित कार्यक्षेत्रमा आएको जानकारी गराएका छन्’ उहाँले भन्नुभयो– ‘चालु आर्थिक वर्षभित्र नै काम सम्पन्न गराउन ताकेता गरिरहेका छौँ ।’
मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३/७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । जोमसोम–कोरला सडकको छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ ।
सडक स्तरोन्नतिका लागि दुई अर्ब छ करोड रुपैयाँ विनियोजन भएको थियो । जोमसोम–ताङ्वे १८ किलोमिटर बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेबाट चैलेसम्म ११ किलोमिटर दिवाडाँफे एपेक्स जेभी, चैलेबाट भेनासम्म ११ किलोमिटर कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र भेनाबाट झैतेसम्म १२ किलोमिटर सडक कञ्चनजङ्घा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका छन् । झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्घा–लामा–मोतिदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा–एपेक्स जेभी कन्स्ट्रक्सनले लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै