
सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गङ्गादेवी चौधरीको मन नमज्जाले कुडिन्छ ।
वर्षभरि खाने अन्न र तरकारीबाली जङ्गली जनावरले एकैदिनमा सखाप पारेपछि सिरहाको लहान नगरपालिका—१६ स्थित तरेगणाकी गङ्गादेवी अब बिहान बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।
वर्षभरी खोने अन्न र तरकारी खेती बँदेल र नील गाईले सखाप गरे । दुम्सी र बाँदरले पनि हैरान पारिरहेका छन् । हुर्किदै गरेका बालीनालीका कलिला मुन्टानै खाइदिएपछि अब कसरी उब्जनी हुन्छ । यहाँ त बालिनाली जोगाउनै मुस्किल भयो हजुर’ गङ्गादेवीले भन्नुभयो । उहाँका अनुसार वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारीलगायत अन्य फलफूलका बिरुवामा समेत क्षति पुर्याएको छ ।
त्यही ठाउँका का सुकदेव चौधरीलाई पनि आफ्नो व्यावसायिक फलफूल बगैचामा बिरुवा हुर्काउन र फल जोगाउन मुस्किल छ । पछिल्लो समय वन्यजन्तु खेतबारीमा पसेपछि निकै हैरानी खेप्नुपरेको उहाँको भनाइ छ । ‘लिच्ची र आँपको मात्र करिब दुई सय बिरुवा लगाएको छु । त्यसैगरि अन्य फलफूलको बिरुवा हुर्किंदै छन् तर जङ्गली जनावरबाट जोगाउनै मुस्किल भयो’ चौधरीले भन्नुभयो– ‘सामान्य विद्युतीय झड्का दिने तारबारले घेर्दा पनि समस्या सुल्झिन सकेको छैन । अब त स्थानीय सरकारले केही उपाय निकालेर हाम्रा बालिनाली जोगाइ दिनुपर्यो ।’
पछिल्लो समय सिरहाका दर्जनौँ सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तु आहारा र बासस्थानको खोजीको लागि बस्ती छिरेका छन् । त्यसैले स्थानीयलाई बालिनाली जोगाउन हम्मेहम्मे परेको वडाध्यक्ष गडुलबहादुर गर्जामगरले जानकारी दिनुभयो । उहाँका अनुसार चैत नलाग्दै सुरूभएको डढेलो अहिले पनि आक्कलझुक्कल लागिरहेकै छ । स्थानीयबासीले आगोेबाट बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । त्यसैले अहिले नजिकैको वन उजाड भएका छन् । ‘आगोबाट बस्ती जोगाइयो तर अन्नबाली जोगाउन सकिएन । आगलागीपछि ज्यान जोगाउन खेतखलियान प्रवेश गरेका वन्यजन्तु र किसानका लागि भने हैरानीका कारण बनेका छन्’ वडाध्यक्ष गर्जामगरले भन्नुभयो– ‘डढेलो लागेपछि वनक्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य वन्यजन्तु आहाराको खोजीमा बस्ती पसेका हुन् ।’
उहाँका अनुसार अन्य समयमा पनि जङ्गली जनावर बस्ती छिरे पनि जङ्गलमा डढेलोपछि भने अहिले बाक्लै मात्रामा गाउँतिर पस्ने गरेको छन् ।
जङ्गल डढेलोले उजाड भएपछि कतिपय जङ्गली वन्यजन्तु गाउँघरका झाँडीतिर लुकेर बसेको अवस्थामा भेटिएको कोइरालो खोला नमुना सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले बताउनुभयो । निरन्तर लागेको डढेलोले वन्यजन्तुले जङ्गलमा आफूलाई असुरक्षित ठानी गाउँ पस्ने गरेको हुनसक्ने अध्यक्ष चौधरीको भनाइ छ । ‘मानवले वन्यजन्तुको घरमा असर पु¥याएपछि जङ्गली जनावर बस्तीतीर पस्नु स्वभाविकै हो । हामै्र सामुदायिक वनमा अहिलेसम्म तीनपटक डढेलो लागिसक्यो जसलाई नियन्त्रण गर्न हम्मेहम्मे पर्यो । अनि वन्यजन्तुले ज्यान जोगाउन त परिहाल्यो नि’ वनबाट बस्ती छिरेका वन्यजन्तुबाट बालिनाली जोगाउन र सिकारीबाट वन्यजन्तु जोगाउन निकै सकस भइरहेको बताउने चौधरीले अब स्थानीय तहले यस्ता क्रियाकलापमा सङ्लग्नको पहिचान गरी कारवाहीको दायरामा ल्याउनुपर्नेमा आवश्यकता औल्याउनुभयो ।
यता जिल्ला वन कार्यालय सिरहा, लहानले भने विगत दुई महिनादेखि जङ्गलमा डढेलो नियन्त्रण गर्न समस्या भइरहेका बेला मङ्गलबार रातिदेखिको सामान्य मनसुनी वर्षाले केही राहत भएको बताएको छ । हालसम्म लहान नगरपालिकाको उत्तर चुरेतर्फ ४५ सामुदायिक वनमध्ये १२ वटा सामुदायिक वनको कूल ७० हेक्टर वनमा डढेलोले क्षति पु¥याएको कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
डढेलोका कारण बस्ती पसेर स्थानीयको बालीनालीमा क्षति पुर्याएका वन्यजन्तु र यही मौका छोपी वन जङ्गलमा चोरी सिकारी गर्नेमाथि वन कार्यालयले कडा निगरानी बढाएको सूचना अधिकारी चौधरीको भनाइ छ ।
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले डढेलो नियन्त्रण गर्न नगरले दमकल सेवासहित आवश्यक जनशक्ति अहोरात्र खटेका र वन्यजन्तुबारेको गुनासोमा पनि आवश्यक सतर्कता अपनाइने बताउनुभयो । ‘मंगलबार पनि वडा नम्बर १५ स्थित बानो गाउँको सामुदायिक वनमा आगलागी भएको खबर पाउनासाथ जनशक्ति र बारुण यन्त्रसहित म आफैँ घटनास्थल पुगेँ । स्थानीयवासी, सामुदायिक वनका सदस्य र वारुणयन्त्रको मद्दतले आगलागी समयमै नियन्त्रणमा आयो । अहिले भने वर्षाले केही राहत भएको छ’ नगरप्रमुख चौधरीले भन्नुभयो ।
उहाँ वन्यजन्तुले यहाँका किसानको बाली र तरकारीमा गरेको नोक्सानीको उचित क्षतिपूर्तिका लागि नगरपालिकाले आवश्यक योजना अगाडि सार्ने बताउनुहुन्छ । ‘वनमा डढेलो लाग्दा वन्यजन्तु वस्तीमा पसेर दुःख दिएको र बालिनालीमा क्षति पुर्याएको विषयमा गुनासा आइरहेका छन् । त्यस विषयमा नगरले उचित कदम चल्छ’ चौधरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै