
तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको तोप संरक्षणको पर्खाइमा रहेको छ ।
सत्रौँ शताब्दीमा सेनवंशीय राजाले प्रयोग गरेको तोपको संरक्षण गर्नुपर्ने स्थानीय मदन आलेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्राचीन अवस्थादेखि नै तोप जीर्ण अवस्थामा रहेको छ । यसको संरक्षण गर्नु अत्यावश्यक भइसकेको छ ।’
ऐतिहासिक सम्पदालाई जोगाउनुपर्नेमा जोड दिँदै आलेले सत्रौँ शताब्दीमा नै यसको प्रयोग भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘इतिहासको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ । यस्ता वस्तुको संरक्षण गरेर यहाँ घुम्न आउने पर्यटकलाई र भावी पुस्तालाई यसबारे जानकारी गराउनुपर्छ ।’
तनहुँसुर घुम्न आउने पर्यटकले तोपलाई उचाल्ने, पछार्ने, पल्टाउने काम गर्न नहुने आलेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘तस्बिर खिच्ने क्रममा तोपलाई चलाउने, पल्टाउने काम गरिदिन भएन । स्थानीय सरकारले यसको संरक्षणको पहल गर्नुपर्छ । यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउनेछ ।’
तोपमा केही दिन अगाडि क्षति पुगेको थियो । तोप तोडफोड भएको जस्तो अवस्थामा भेटिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘तोपलाई हल्लाउने, चलाउने गरेर क्षति पुगेको स्थानीयवासीबाट जानकारी पाएको छौँ ।’
तोपलाई सुरक्षित राख्नका लागि परिसर आसपासमा तारबार गर्नुपर्ने स्थानीयले माग गरिरहेका वडाध्यक्ष दुराले बताउनुभयो । तत्कालका लागि बजेट अभाव रहेको भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल गरिने उहाँले बताउनुभयो ।
तनहुँसुर सेनवंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अपभ्रंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।
तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगँैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । राजा मुकुन्दसेनको मृत्युपरोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी को हुने भन्ने विषयमा विवादसमेत भएको जानकारहरु बताउँछन् ।
तनहुँसुरमा हालैमात्र खड्ग कालिका मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनःनिर्माण सुरु भएको ऐतिहासिक महत्वको खड्ग कालिका मन्दिरको काम सकिएर उद्घाटन गरिसकिएको छ । यहाँ रहेको दरबारको विसं २०७६ मा पुरातत्व विभागले उत्खनन् गरेको थियो । त्यही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनःनिर्माण गरिएको हो ।
केही समय अगाडिसम्म ओझेलमा रहेको तनहुँसुर अहिले पर्यटकीयस्थलका रुपमा विकास हुन थालेको स्थानीय सञ्जय श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यहाँ सामुदायिक घरबास सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरबास सञ्चालनमा आएको छ ।
विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेर गएका थिए । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै