
कैलाली । चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन जिल्लाका चुरे क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेका ताल संरक्षण अभावमा ओझेल पर्दै गएका हुन् ।
कैलालीको गोदावरी नगरपालिका–१२ मा रहेको नाइल ताल, चुरे गाउँपालिका–४ मा रहेको कुटेबन्ध, कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रभित्र पर्ने पाण्डब, बेलकोट, भीमदत्त नगरपालिका–९ मटैनामा रहेको झिलमिला ताल, डडेल्धुराको आलिताल गाउँपालिकामा पर्ने आलिताल र बोडापती ताल चुरे क्षेत्रमा अवस्थित रहेका ताल हुन् ।
कैलाली, कञ्चनपुर र डडेलधुराको सीमा क्षेत्रमा रहेको नाइल ताल तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वर्षभरि कञ्चन पानी रहने ताल धार्मिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ । विगतमा सुदूरपश्चिम डोटी राज्य हुँदा मुगल दरबारका रूपमा परिचित गाउँमा रहेको नायल ताल अहिले संरक्षणको अभावमा ओझेलमा पर्दै गएको गोदावरी नगरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताउनुभयो ।
कञ्चनपुरको उत्तरी चुरे भेगका चारैतिर डाँडाकैबीचमा अवस्थित झिलमिला ताल समुद्रसतहदेखि छ सय ८० मिटर उचाइमा रहेको छ । सो तालको विशेषता हिउँद, गर्मी अथवा वर्षातमा समेत पानी फोहर नहुने जनाइएको छ । धार्मिक, पर्यटकीय ऐतिहासिकरुपमा रहेको बेदकोट ताल संरक्षण अभावमा ओझेलमा परेको जनाइएको छ । कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको सो तालमा पछिल्लो पटक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको जनाइएको छ ।
आलिताल गाउँपालिका–३ मा रहेको धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार एक सय ७५ मिटर तथा चौडाइ करिब चार सय मिटर रहेको छ । महाभारतको चुरे क्षेत्रबाट विभिन्न फोहर पदार्थ तालमा जम्मा हुँदै जान थालेपछि दिन प्रतिदिन साँघुरिँदै गएको स्थानीयको भनाइ छ ।
चुरे क्षेत्रमा रहेका ताल प्राकृतिकरुपमा रमणीयका साथै छुट्टाछुट्टै पहिचान बोकेका ताल भएकाले ती तालको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो । उहाँले चुरे क्षेत्रमा रहेका महत्वपूर्ण तालको आफूले स्थलगत अवलोकन गरिसकेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यान्वयन एकाइका अनुसार चुरे क्षेत्रमा अवस्थित आधा दर्जन बढी तालको पहिचान गरिएको छ । पहिचान गरिएका तालको संरक्षण र सम्वद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा समावेश गरिने प्रदेश पर्यटन कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराले बताउनुभयो ।
चुरे क्षेत्रमा अवस्थित तालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व भएकाले ती तालको संरक्षण र सम्वद्र्धनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै