
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-३ आशापुरमा मुक्तकमैयाको सानो बस्ती छ । विसं २०५७ मा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई आशापुरमा जग्गा उपलब्ध गराएको थियो ।
मुक्तकमैयाको परिवार सङ्ख्या बढेर अहिले २२ पुगेको छ । यहाँका स्थानीय कोही घर बनाउने मिस्त्री र कोही कोही मजदुरी गर्थे । तर अहिले धेरैजसो मुक्त कमैयाका परिवार तरकारी खेतीमा सक्रिय छन् ।
कमैयामुक्तपछि जानकी चौधरीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ । “कमैयामुक्तिपछि तरकारी खेतीको तालिम लियौँ । यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ”, उहाँले भन्नुभयो, “सिजनमा रु डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ ।”
कमैयामुक्तिपछि सरकारले एक परिवारलाई पाँच कट्ठाको दरले जमिन उपलब्ध गराएको थियो । जानकीले आधा बिघा जमिन अधियाँमा लिएर धान÷गहुँ खेती गर्नुहुन्छ । नौ कट्ठा जमिनमा चाहीँ काँक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत तरकारी खेती गर्नुभएको छ । उहाँले च्याउ खेती पनि गर्नुभएको छ ।
४० वर्षीय मानबहादुर डगौँराले १० कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । तरकारी बेचेरै उहाँले घरखर्च चलाउँदै आउनुभएको छ । वार्षिक रु दुई देखि तीन लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
“अटो रिक्सामा राखेर तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ, सिँचाइ हुँदा राम्रो उब्जाउ हुन्छ”, उहाँले भन्नुभयो, “थोरै सिँचाइको असहजता छ, नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।” कमैया बस्दा मानबहादुरले पढ्न पाउनुभएन । कमैयामुक्ति भएपछि लिएको तालिमले तरकारी खेतीमा लाग्न प्रेरणा मिलेको उहाँको भनाइ छ । तरकारी खेतीबाटै कमाएको पैसाले आशापुरमा मानबहादुर पक्की घर निर्माण गर्दै हुनुहुन्छ ।
आशापुरकै विक्रम डगौँरा पनि तरकारी खेती गर्नुहुन्छ । कमैयामुक्त भएपछि उहाँ तीन पटक वैदेशिक रोजगारीमा जानुभयो । मथनर, दुबई र साउदीमा मजदुरी गर्नुभयो । श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किनुभएका विक्रम अहिले गाउँमै तरकारी खेती गरेर आम्दानी गरिरहनुभएको छ ।
“आठ/नौ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरेँ, अहिले राम्रो आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “स्वदेशमै मेहनत गरे कमाइ हुने रहेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय