+

बस्ती विकासमा आफैँ जुटे राधेराधेवासी, सडक विस्तारका लागि घरघरका पर्खाल भत्काउँदै

भक्तपुर । टोलवासीले चाहे के गर्न सकिन्न र ? भन्ने नमूना प्रस्तुत गर्दै आफ्नो बस्ती विकासमा जुटेका राधेराधेवासीले सडकको चौडाइ विस्तारका लागि घरघरका पर्खाल भत्काउने अभियान शुरु गरेका छन् । 

मध्यपुरथिमी नगरपालिका‐९ राधेराधे बस्तीवासीले १३ फिटे भित्री सडकलाई २० फिटे फराकिलो बनाउन आफ्ना घर, कम्पाउण्डका पर्खाल आफैँ भत्काउन थालेका हुन् । मध्यपुरथिमी नगरपालिका–९ राधेराधेका दुई सय ५० घरका बासिन्दाको भेलाले २०७३ असारमा दर्ता गरी सामुदायिक भवनसमेत निर्माण गरी सञ्चालन गर्दै आएको ‘श्यामाश्यामा निकोशेरा समाज’ को नेतृत्वमा सडक फराकिलो पार्ने अभियान शुरु गरेको हो । 


समाजका अध्यक्ष जनार्दन नेपालले सानो सडकले दोहोरो यातायात सञ्चालनमा सहज बनाउन, दमकल, एम्बुलेन्स जस्ता साधन प्रवेशमा सहज गराउन समाजको छलफल र निर्णयानुसार बस्तीभित्रका सबै घरमा पुग्ने सडक २० फिट फराकिलो बनाउने सहमति अनुसार घर कम्पाउण्डका पर्खाल भत्काउन शुरु गरिएको बताउनुभयो । सुरुमा रामप्रसाद शाहले पर्खाल भत्काउन थालेपछि सिर्जना रोक्का, सुशीला शिवाकोटी हुँदै अभियान चालु छ ।
  
उहाँले भन्नुभयो– ‘हाम्रो बस्ती विकासमा समाज र सिङ्गो बस्ती हेस्टेमा हैँसे गर्दै लागिरहेको छ, हाम्रो यस बस्तीको सामाजिक, आर्थिक, भौतिक पूर्वाधार, शैक्षिक, खेलकुद, खानेपानी जस्ता पूर्वाधारको विकासमा जुटिरहेका छौँ, अहिले सडक चौडा गर्ने सहमति अनुसार सबैले आफ्नो कम्पाउण्ड भत्काउन शुरु गरेका छौँ, अब सबैको घरमा २० फुटे सडक पुर्याउनेछौँ ।’

उहाँले अहिलेसम्म करिब २० वटा घरधनीले आफैँ कम्पाउण्ड भत्काइसकेको जानकारी दिँदै उहाँले समाजका पदाधिकारीको घरबाट भत्काउनु शुरु गरेको र करिब ९० घरको पर्खाल भत्काएपछि अभियान पूरा गर्दै सीमाङ्कन गरिने बताउनुभयो । 

विभिन्न सरकारी निकायबाट गत आर्थिक वर्षमा २० लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ ल्याउन सफल भएको भन्दै उहाँले पर्खाल भत्काउने कार्य सम्पन्न गरेर सबै सडक कालोपत्र गर्न योजना अगाडि बढाएको बताउनुभयो । समाजका उपाध्यक्ष दुर्गाप्रसाद निरौला अध्यक्षलगायत आफ्नो र पदाधिकारीले गत शनिबार बिहानदेखि नै कम्पाउण्ड भत्काउन थालेको जानकारी दिँदै अहिलेसम्म कतै अवरोध नभई थप पर्खाल भत्काउने कार्य जारी रहेको बताउनुभयो । 

पर्खाल भत्काइसकेपछि वडाध्यक्ष लगायतको रोहबरमा सीमाङ्कन गरी २० फिटे सडक कायम गरिने जानकारी दिँदै अध्यक्ष नेपालले कहीँकतै छिटफुट रुपमा पर्खाल भत्काउन अटेर गरे वडा कार्यालयको सहजीकरणमा भत्काइने जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिका‐९ का वडाअध्यक्ष सानुकाजी राजबाहकले राधेराधेवासीले सडकको महत्व बुझेर आफैँ सडक फराकिलो बनाउन कम्पाउण्ड भत्काएर उदाहरणीय कार्य गरेको भन्दै यहाँको एकताबाट अरुले पनि पाठ सिक्नुपर्ने बताउनुभयो ।

पर्खाल भत्काउन सडक सीमाङ्कनमा अधिकांश ठाउँमा विवाद र लफडा हुने भएपनि यहाँ भने स्थानीयवासी नै जुर्मुराएको भन्दै यस्तो उदाहरणीय कार्य गरेपछि नगरपालिका र वडाले पनि विकासका बजेट थप गर्न सहज हुने बताउनुभयो । राधेराधे निकोसेरा क्षेत्रमा वडा कार्यालयले ७ करोड रुपैयाँमा काम  समेत शुरु गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष राजबाहकले भन्नुभयो– मध्यपुरथिमी नगरपालिकाकै उपयुक्त नयाँं बस्तीको रुपमा विकास भएको राधेराधे क्षेत्र अहिले भक्तपुरको ठमेल भनेर चिनिन थालेको छ, यो गौरवको कुरा हो, यो ठाउँंलाई भक्तपुरकै नमुना बस्ती बनाउने, र भक्तपुरको बिजिनेश हबको रुपमा विकास गर्ने लक्ष्य रहेको छ, विकासमा कहीँ कतै अवरोध आए वडा कार्यालय अगाडि उभिएर सहजीकरण गर्नेछ ।’

आफ्नै घरको कम्पाउण्ड पर्खाल भत्काउँंदै गर्नुभएकी स्थानीय गीता निरौलाले सबैले फराकिलो बाटोको आवश्यकता महशुस गरी सिङ्गो बस्तीको सहमति अनुसार आफनो कम्पाउण्ड भत्काएको बताउनुभयो । तेह्र फिटको सडकलाई सडकको दायाँबायाँका घरको कम्पाउण्ड पर्खाल भत्काएर दुबैतर्फ तीन फिटभित्र सारेर २० फिटको फराकिलो सडक बनाउने र अर्को नयाँं कम्पाउण्ड लगाउने गरी पर्खाल भत्काउन थालेको उहाँले सुनाउनुभयो । वडाध्यक्ष राजबाहकसहित वडा सदस्यलगायतको टोलीले त्यसक्षेत्रमा भइरहेको पर्खाल भत्काउने अभियानको प्रत्यक्ष अवलोकन गर्नुभयो । 

पूर्वमा भक्तपुर नगरपालिकाको सीमानाको हनुमन्ते खोला, पश्चिममा राधेराधे कमेरोटार बस्ती, भाटभटेनी सुपर मार्केट, उत्तरमा निकोसेरा सडक र दक्षिणमा अरनिको राजमार्गको चार किल्लाभित्र रहेको यो बस्तीमा आइपरेको कुनै पनि समस्या र विकासका काममा समाजले छलफल गरी समस्या समाधानमा टोलवासीनै सक्रिय रहने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट