
काठमाडौँ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको तारकेश्वर नगरपालिकाको प्राचीन नेवार बस्ती मनमैजुमा आजदेखि अजिमा जात्रा शुरु भएको छ ।
जात्राको पहिलो दिन आज तारकेश्वर महादेवको जङ्गलमा रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याई लिङ्गोका रूपमा मन्दिर अगाडि ठड्याएर अजिमाको जात्रा शुरु गरिएको हो । धर्मस्थली जात्रा सकिएलगत्तै चैत्र शुक्ल चतुर्दशीका दिन लिङ्गो ठड्याएर आज विधिवत रूपमा जात्रा शुरु गरिएको नेवाःगुठी मनमैजुका गुठीयार भक्तमान महर्जनले जानकारी दिनुभयो ।
पाँच दिनसम्म चल्ने मनमैजु जात्रामा मनमैजु अजिमालाई खटमा विराजमान गराई टोलटोलमा लगेर स्थानीयले पूजा गर्ने चलन छ । पाँच दिनमध्ये तीन दिन खटजात्रा, एक दिन मनमैजु देवीको मन्दिरमा पूजाआजा र एक दिन भजनकीर्तन गरी मनाइने महर्जनले बताउनुभयो ।
जात्राको पाँचौँ दिन अर्थात् वैशाख १४ गते लिङ्गो ढालेर जात्रा समाप्त गरी देवीलाई विधिवत पूजा गर्ने चलन छ । मनमैजुको जात्रा बालाजु बाइसधाराको जात्रासँग पनि अन्तर सम्बन्धित रहेको छ । बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने धार्मिक जनविश्वास रहेको छ ।
महर्जनका अनुसार फुसिंख्यःमनमैजु जात्रामा अजिमा स्वयं धामीको रूपमा प्रकट भई जात्रामा सरिक हुने परम्परा हजारौँ वर्षअघिदेखि चल्दै आइरहेको छ । अजिमा धामी हुनेले जामालगाई अजिमा द्यःको पात्र समाति पूजा थाप्दै रथ अगाडि हिँड्छन् । अजिमा द्यः (धामी) हुनेलाई अजिमाको शक्ति आफैँ जागेर आउने गरेको स्थानीय बताउँछन् ।
मनमैजु देवीको नामबाटै यस गाउँको नाम मनमैजु रहन गएको उल्लेख रहेको पाइन्छ । जात्रा ऐतिहासिक लिच्छवी राजा गुण कामदेवको पालादेखि इन्द्रायणी देवीका रूपमा मानिएको मैजु माईको सम्झनामा शुरु गरिएको हो । मनमैजु जात्राका लागि तारकेश्वर नगरपालिकाले समेत सहयोग गरेको छ । नगरप्रमुख कृष्णहरि महर्जनले जात्रा व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा