
पर्सा । नयाँ शैक्षिकसत्र शुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो थालेका छन् ।
महानगरअन्तर्गतका ९२ सामुदायिक विद्यालयले यही वैशाख ३ गतेदेखि विद्यार्थी अभियान अन्तर्गत हरेक विहान शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा घरदैलो कार्यक्रम शुरु गरेका हुन् ।
सामुदायिक मात्रै होइन, निजी विद्यालयले पनि भर्ना अभियानलाई उत्तिकै प्रथामिकताका साथ अघि बढाएका छन् । नेपाल राष्ट्रिय मावि नगवाका प्रधानाध्यापक नन्दकिशोर रामले नयाँ विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । ‘वैशाख ३ गतेदेखि शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा विद्यालय वरपर रहेका बस्तीमा पुगेर नयाँ विद्यार्थी भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छौँ’ उहाँले भन्नुभयो– ‘बिहान ६ बजेदेखि नै भर्ना अभियान अघि बढाउँदै आइरहेका छौँ । भर्ना अभियानअन्तर्गत बालविकासदेखि कक्षा ९ सम्म भर्ना अभियान जारी छ ।’
उहाँका अनुसार गत शैक्षिक सत्र विद्यालयको बालविकास कक्षामा ७९ जना विद्यार्थी भर्ना भएका थिए । विद्यालयका अनुसार अहिले पनि करिब १५ जना विद्यार्थी भर्ना भइसकेका छन् । महानगरभित्रका अन्य विद्यालयले पनि भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छन् । रामगढस्थित रामजानकी आधारभूत विद्यालयले हरेक विहान भर्ना अभियान शुरु गरेको छ ।
वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले महानगरभित्र रहेका सबैजसो विद्यालयले नयाँ भर्ना अभियान शुरु गरेको बताउनुभयो । ‘महानगर क्षेत्रमा वैशाख ३ गतेदेखि नयाँ भर्ना अभियानलाई सञ्चालन गर्दै आइरहेका छौँ’ उहाँले भन्नुभयो– ‘शिक्षक तथा विद्यार्थीहरुले संयुक्त रुपमा नयाँ भर्ना अभियानलाई अघि बढाउँदै आइरहनुभएको छ ।’ यो भर्ना अभियान वैशाख १५ गतेसम्म चल्ने उहाँको भनाइ छ ।
महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । जसमध्ये २१ माध्यामिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्वप्रथामिक विद्यालय पनि छ ।
गत शैक्षिक सत्रमा यी विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म एक लाख रुपैयाँ भन्दा धेरै विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिक सत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी निजी विद्यालयमा भर्ना भएका थिए । महानगरले यस वर्ष १० प्रतिशत धेरै विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ ।
महाशाखा प्रमुख कर्णले महानगरभित्र पढ्ने उमेरसमूहका सबै विद्यार्थीलाई समेटेर भर्ना अभियान अघि बढाउँदै आइरहेको बताउनुभयो । ‘महानगरको मुख्य लक्ष्य नै विद्यालय जाने उमेरसमूहका कोही पनि विद्यार्थी नछुटुन भन्ने हो’ उहाँले भन्नुभयो– ‘महानगरमा आर्थिक अभावमा विद्यालय नगएका भन्ने छैनन् ।’ केही बालबालिका सीमावर्ती बजार रक्सौलमा गएर साइकलमा सामान ओसारपोसार गर्दा आम्दानी हुने भएकाले पढाइमा रुचि नदिएको पनि पाइएको उहाँको भनाइ छ । ‘उनीहरुलाई विहान १० देखि ४ बजेसम्म विद्यालयमा अडाइराख्नु मुख्य चुनौती पनि छ’ उहाँले भन्नुभयो ।
महानगरका अनुसार विशेष गरी डोम, मुसर लगायतका जाती विशेषका विद्यार्थीलाई सामुदायिक सिकाइ केन्द्र (सिएलसी)मार्फत कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले महानगरभित्रकै केही विद्यालयमा विद्यार्थीको अत्यधिक चाप भएको बताउनुभयो । त्यस्ता विद्यालयमा विद्यार्थी व्यवस्थापनको चुनौती रहेको उहाँको भनाइ छ ।
महानगरका अनुसार माइस्थान विद्यापीठ, नसिंह मावि सुराकन्या मावीलगायतका विद्यालयमा ३ हजारभन्दा धेरै विद्यार्थी छन् । यद्यपि महानगरले ती विद्यालयमा पनि भर्ना अभियान अघि बढाउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु