
तनहुँ । भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब ३ करोड रुपैयाँ आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी २ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका हुन् ।
भिमाद–१, ५, ८ र ९ का किसानले दुई सय २२ टन सुन्तला बिक्री गरेका नगरपालिकाका कृषि सेवा शाखा प्रमुख कृष्ता महतोले जानकारी दिनुभयो । त्यसमध्ये वडा नम्बर ८ अस्पादीबाट मात्रै १ करोड ५० लाख रुपैयाँको सुन्तला बिक्री भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अस्पादीका कृषकले एक सय ६६ टन सुन्तला बिक्री गर्नुभएको तथ्याङ्क छ । अन्य वडाको तुलनामा यो वडामा बढी सुन्तला उत्पादन हुने गर्दछ ।’
कृषि सेवा शाखा प्रमुख महतोका अनुसार चार वडालाई नगरपालिकाले पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । पकेट क्षेत्रका सुन्तला कृषकलाई नगरपालिकाले विभिन्न सामग्री सहयोग गर्दै आएको उहाँको भनाइ छ । पकेट क्षेत्रका वडामा एक सय ५० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।
नगरपालिकाले चालु आव २०८०÷८१ मा वडा नम्बर ५ लाई पनि सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेको छ । यो वडाको मिछुर्लुङ क्षेत्र सुन्तला पकेट कार्यक्रममा ३३ जना कृषक आबद्ध छन् । समूहलाई यसै वर्ष सुन्तला खेती प्रवर्द्धनका लागि ६ लाख सहयोग गरिएको कृषि अधिकृत हरिप्रसाद गैह्रेले जानकारी दिनुभयो ।
तनहुँमा यो वर्ष ३० करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् ।
जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद– ८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका उहाँले बताउनुभयो ।
सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका साथै पोखरा, नारायणगढ लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री