
नवलपुर । कावासोती वडा नम्बर १० निवासी बालकुमारी महतोलाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन । पाँच वर्ष यहाँ घरबास सञ्चालन गरेर प्राप्त भएको आम्दानीले उहाँलाई आत्मनिर्भर बनाएको छ ।
पाँच वर्षअघि कावासोती–१० मा चिलाहा रतवल सामुदायिक ग्रामीण घरबास सञ्चालन भएपछि महतोजस्तै यहाँका महिलाको क्षमता विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुगेको छ । ‘पहिला केही खेतीपातीबाट आम्दानी हुन्थ्यो, त्यसैको भर थियो, अहिले घरबास सञ्चालनपछि पाहुनाको स्वागत गर्यो, आम्दानी पनि भएकै छ’ घरबास सञ्चालक रेशमकुमारी महतोले भन्नुभयो । घरबासमा आउने पाहुनालाई थारू संस्कृति प्रस्तुत गर्ने, थारू समुदायका परिकार खुवाउने र त्यसैबाट आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
घरबास सञ्चालनले आम्दानीसँगै महिलाको क्षमता विकासमा सहयोग पुगेको छ । खेतीपाती, पशुपालनमा रमाउने महिला अहिले पाहुनाको स्वागतमा व्यस्त हुन्छन् । ‘पहिला खासै अरुसँग राम्रोसँग बोल्न पनि लाज लाग्थ्यो, तर अहिले नबोली व्यवसाय चल्दैन, घरबासले बोल्न पनि सिकायो’ रेशमकुमारीले भन्नुभयो ।
बालकुमारी र रेशमकुमारी जस्तै घरबास सञ्चालन गर्ने अन्य महिलामा समेत यो परिवर्तन आएको छ । घरबास सञ्चालन भएपछि यहाँका महिलाको क्षमता विकासमा मात्रै होइन आत्मनिर्भर बन्न र गाउँकै विकास गर्न टेवा पुर्याएको छ ।
थारू समुदायको बाहुल्य रहेको चिलाहा गाउँ, सदरमुकाम कावासोतीमै पर्ने भएपनि पिछडिएको थियो । निम्न आयश्रोत र मध्यवर्ती नजिकै पर्ने हुँदा जंगली जनवारले दुख दिने अन्नबाली लगायो । गैंडा मयुर बँदेलले खाइदिने, पशुपक्षी अजिंगर, स्याल लगायतका जनवारले खाइदिने । जसका कारण पनि यहाँका समुदायको जीवन स्तर माथि उठ्न सकेको थिएन । तर घरबास सञ्चालन पछि अहिले गाउँको मुहार फेरिएको र समुदायको जीवन स्तर पनि माथि उठेको रेशम कुमारी महतोले बताउनुभयो ।
घरबास सञ्चालनको सबैजसो जिम्मा महिलाकै हातमा छ । पाहुनाको स्वागत, खानपानदेखि सांस्कृतिक प्रस्तुतिलगायत काम महिलाहरू मिलेर गर्छन् । पुरुषले पनि उनीहरूलाई सघाउँछन् । घरबासमा अहिलेसम्म आन्तरिक र बाह्य गरी ११ हजार हाराहारी पर्यटकको आगमन भएको घरबासका व्यवस्थापक प्रेमबहादुर मुखियाले बताउनुभयो ।
यहाँ आउने पाहुनाले घरकै स्वाद र घरमै बसेजस्तो अनुभव गर्न पाउँछन् । अर्कातर्फ गाउँबस्तीमा पसेर दुःख दिने जङ्गली जनावर देखाएरसमेत आम्दानी गरेका छन् । यहाँ पर्यटकको अर्को आकर्षण भनेको जिप सफारी हो । मध्यवर्ती क्षेत्रमा गैँडा, मृग, हरिण, बँदेल, मयुर, नारायणी नदीमा गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी सफारीमा देख्न पाइन्छ । प्रकृति र संस्कृतिको संरक्षण गर्दै समुदायको विकास र जीवनस्तर उकास्ने घरबास सहयोगी भएको कावासोती–१० का वडाध्यक्ष टेकनारायण महतोले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री