+

पहिरोका कारण रित्तिदै म्याग्दीको चौरखानी गाउँ

म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । 

चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताउनुभयो । ‘विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो’ उहाँले भन्नुभयो– शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो ।’ वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिराले १८ वटा घर भत्किएका छन् । आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाई बसाइँ सरेका छन् । आधाले घर छाडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा गएर बसेका हुन् । घर भए पनि बसोबास छैन । बर्खामा गोठमा गएर बस्ने गरेका छन् । 

गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए । यस वर्ष थप छवटा घर पुनःनिर्माण भइरहेको छ । गाउँपालिकाले पहिराबाट घर भत्किएकालाई पुनःनिर्माणका लागि ५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

‘पहिराले हजारौँ रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ’ उहाँले भन्नुभयो– ‘रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो ।’ यहाँ छन्त्याल र दलित समुदायको बसोबास छ । हाल दलित समुदायको एउटा मात्र घर छ । भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो । गाउँको बीचमा पहिराले ठाडो चिरा बनाएको छ । खेतबारी र जङ्गल चिराचिरा परेको छ । पहिराले उठिबास लगाएपछि बसाइँसराइ गरेको चौरखानीका रेश विकले बताउनुभयो । उहाँको परिवार हाल गाउँपालिकाको केन्द्र मौवाफाँटमा बसोबास गर्नुहुन्छ ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको स्थानीय रामप्रसाद छन्त्यालले बताउनुभयो । वर्षेनी ग्यावियन पर्खाल र भल व्यवस्थापन गरे पनि पहिरो रोकिएको छैन । पहिरो रोकथामको प्रयास सफल नभएकाले गाउँलाई नै अन्यत्र स्थानान्तरण गर्न जग्गाको खोजी गरिरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै