
नेपालगञ्ज । नेपाली आकाशबाटै मानसरोवरस्थित कैलाश पर्वतको दर्शन गर्न पाइने भएपछि यतिबेला नेपालगञ्जबाट हुने ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान) मा नेपालीसँगै भारतीय यात्रुको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ ।
हिन्दू तथा बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल कैलाश पर्वतलाई महादेवको बासस्थान मानिन्छ । सडकमार्ग भइ त्यहाँ पुग्न ठूलो खर्च र धेरै समय लाग्छ । त्यसमाथि चीन सरकारको अनुमति पनि आवश्यक पर्छ । पर्याप्त समय र खर्च गर्न नसक्ने तथा शारीरिक रुपमा कमजोरका लागि पर्वतीय उडानमार्फत मानसरोवरको दर्शन गराउने उद्देश्यले श्री एयरलाइन्सबाट गत माघ दोस्रो सातादेखि सेवा शुरु गरिएको थियो ।
सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित टुर एण्ड ट्राभल्स पथिल होलिडेजको परिकल्पनामा भारतको तीर्थयात्रासम्बन्धी कम्पनी ट्रिप टु टेम्पल्ससँगको सहकार्यमा पर्वतीय उडान गराउँदै आइएको सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनुभयो । यस पर्वतीय उडानमा खास गरी दक्षिण भारतको चेन्नइ, बैङ्लोर, कलकत्ता, दिल्ली आसपासबाट आउने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रहेको उहाँको भनाइ छ ।
हाल श्री एयरलाइन्सको विमानबाट प्रत्येक सोमबार र हिन्दु धर्मसँग सम्बन्धित महत्वपूर्ण पर्वमा पर्वतीय उडान भइरेको छ । ‘यस उडानमा अधिकांश भारतीय पर्यटक हुने गरेका छन्, आन्तरिक पर्यटकको सङ्ख्या पनि राम्रो छ’ होलिडेजका सुपरभाइजर पेशल दाहालले भन्नुभयो । ‘भारतीय पर्यटकलाई भारतको लखनउबाट ल्याएर एक दिन घुमाएर लखनउमै पु-याउने गरिएको छ’ दाहालले भन्नुभयो ।
नेपालगञ्ज–कैलाश मानसरोवर यात्राका लागि भारतीय पर्यटकलाई ‘विन्डो सिट’का लागि भारु ४० हजार र सामान्य सिटका लागि भारु २१ हजार शुल्क निर्धारण गरिएको छ । भारु ४० हजार शुल्क तिर्ने पर्यटकलाई एक रात आवास तथा खानाको समेत प्रवन्ध गरिएको छ । नेपालीहरुको हकमा भने ‘विन्डो सिट’का लागि २८ हजार रुपैयाँ र साधारण सिटका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीको भनाइ छ ।
पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको पर्वतीय उडानले नेपालगञ्जको खस्कँदो पर्यटन व्यवसायलाई उकास्न सहयोग गरेको बताउनुभयो । उहाँले कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको उल्लेख गर्दै यसबाट अन्य क्षेत्र पनि चलायमान हुने बताउनुभयो ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले उडानको सफलतासँगै आर्थिक रूपमा नेपालगञ्जको भविष्य समेत जोडिएकाले यसलाई सबैले आत्मसात गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
रामनवमीमा पाँच उडान
वैशाख ५ गते परेको रामनवमीका दिन पाँच उडान हुने भएको छ । टुर एण्ड ट्राभल्स पथिल होलिडेज प्रालिले श्री एअरलाइन्सको विमानबाट उडानको तयारी भइरहेको जनाएको छ ।
‘हामीले पाँचवटा उडानका लागि अग्रीम बुकिङ खुला गरिसकेका छौँ’ सुपरभाइजर दाहालले भन्नुभयो । खास गरी रामनवमी जस्ता विभिन्न पर्वमा यस्ता उडान बढी हुने गरेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा