
म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ ।
मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हुँदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक निर्माण भएपछि मालिकाधुरी पुग्न पर्यटक र भक्तजनलाई सहजका साथै यात्रा अवधि छोटिएको बताउनुभयो ।
“मालिकामा पूजाआजा, दर्शन र दृष्यावलोकन गर्नका लागि अब अघिल्लै दिन गएर टहरा, ओडारमा बास बस्नुपर्दैन”, उहाँले भन्नुभयो, “बिमदेखि नागीथलासम्म गाडीमा एक घण्टा र नागीथलादेखि मालिकाधुरीसम्म करिब ४५ मिनेट पैदलयात्रा गरेपछि पुगिन्छ ।”
मालिका गाउँपालिकाले खारा–बिम सडक स्तरोन्नति र मालिकाधुरी नजिकैको नागीथलामा सडक पु¥याउन विसं २०७८ माघमा दिव्यज्योति–नाना जेभीसँग रु एक करोड ५९ लाख ५४ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले सो योजनामार्फत नागीथलासम्म दुई किलोमिटर नयाँ मार्ग खनिएको र खारा क्षेत्रमा सडक स्तरोन्नतिको काम सकिएको जानकारी दिनुभयो । विसं २०७९ असारमा सम्पन्न हुनुपर्ने सडक निर्माण कम्पनीका प्रतिनिधिको ढिलासुस्ती र लापर्वाहीका कारण ढिलाइ भएको हो । पछिल्लो पटक काम गर्नुभएका निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले अघिल्ला प्रतिनिधिले दुई वर्षसम्म नगरेको काम आफूले दुई महिनामै सकेको बताउनुभयो ।
मालिका गाउँपालिकाको वडा नं ७ र ६ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ । बीसभन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पन्छीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ ।
दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । “सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन पूजाअर्चनाका निम्ति आउनेको भीड लाग्छ”, उहाँले भन्नुभयो, “म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट पनि भक्तजन आउँछन् ।”
मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवा चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, मनास्लु लगायत २० भन्दा बढी हिमशृङ्खलाका साथै म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ ।
सडक पुगेको नागीथलादेखि मालिकाधुरीसम्म तीन वर्षअघि गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले ३९ लाख २० हजार रुपैयाँ लगानीमा एक दशमलव पाँच मिटर चौडाइ फराकिलो एक हजार २७२ मिटर ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण गरेको थियो ।
सडक र पदमार्ग बनेपछि मालिकाको यात्रा अवधि छोटिएको बिमका टीकाबहादुर जुग्जालीले बताउनुभयो । मालिका गाउँपालिकाले यसअघि ८३ लाखरुपैयाँको लागतमा बिम हुँदै मालिकाधुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको थियो ।
रघुगङ्गा गाउँपालिकालले ठाडाखानीदेखि पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ । सदरमुकाम बेनीबाट सवारी साधनम लिएर एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पन्छी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार पनि उत्तिकै चित्ताकर्षक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल