
पोखरा । अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दैआउनुभएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उहाँ सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्नुहुन्छ ।
परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उहाँ घर सल्यान जाँदै हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आउनुभएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन ।
घर जानका लागि चारैजना चढेको ग १ ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा सडकबाट दुई सय ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनापछि घाइते चारै जनाको अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ । सोनिसा जीपको अघिल्लो सिटमा हुनुुहुन्थ्यो । ग्रामीण सडक भए पनि जीपको गति तीव्र थियो । ‘सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो । मोटरसाइकल तीव्र गतिमा थियो । घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप भिरमा खस्यो’ सोनिसाले दुर्घटनाबारे बताउनुभयो ।
घुम्तीमा दायाँ मोडिनुपर्ने जीप बायाँ मोडिएर भिरबाट तल खसेको हो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाइ छ । ‘दुर्घटनापछि पनि म पूरै होसमा थिएँ । हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याउनुभएको हो’ उहाँले भन्नुभयो । जीप दुर्घटनामा पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ ।
घटनामा पोखरा–२३ का ६० वर्षीय रामप्रसाद सुनार, अन्नपूर्ण गाउँपालिका–४ की ५० वर्षीया देउमाया केसी, सोही ठाउँका २२ वर्षीय धनराज सुनार, पोखरा–२३ का ५८ वर्षीय लक्ष्मण कामी, सल्यानका सात वर्षीय आरुष विक र ४१ वर्षीय राजकुमार विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेमध्ये ६ जनाको मणिपाल र अन्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा