
पोखरा । मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् ।
लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गर्नुभएको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन् । बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिनुभयो । बाख्रामा शुरुवातमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ ।
शुरुवातमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको भए पनि अहिले पछिल्लो दुईदेखि तीन सातामा सबै बाख्रा मरेको बरालले बताउनुभयो । ‘शुरुमा पुस अन्तिमतिर केही बाख्राले नाकबाट सिगान बगाउने, घाँसपानी नखाने, झोक्रयाउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएका थिए’ बरालले भन्नुभयो– ‘तर अहिले पुनः पहिलाकै समस्या देखियो र बीस दिनमा सबै बाख्रा मरे ।’
बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दासमेत कम नभएको बताउनुभयो । पशु प्राविधिकले रोग पत्ता लगाउनका लागि ल्यावमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो । थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भए पनि काम नगरेको बरालले बताउनुभयो । बरालले रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित डेढ करोड रुपैयाँ क्षति पुगेको उल्लेख गर्नुभयो ।
बरालले केही बाख्रोको बीमा गरेपनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिनुभयो । पेसाले शिक्षक बरालले विसं २०७४ देखि व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय गर्दै आउनुभएको थियो । बाख्रासँगै उहाँले कुखुरापालन गर्नुभएको छ । बरालले गत वर्ष बाख्रापालनबाट ३८ लाख रुपैयाँको आम्दानी गर्नुभएकामा यसवर्ष ५० लाखको बिक्री गर्ने योजना बनाउनुभएको थियो ।
‘सानो उमेरदेखिनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ’ बरालले भन्नुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिनुभयो ।
हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताउनुभयो । ‘विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो । त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ । धेरै ढिला भएकाले उपलब्धि भएन’ उहाँले भन्नुभयो ।
त्यस वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमूना भएको भन्दै क्षतिले आफूहरुलाई समेत दुखित बनाएको बताउनुभयो । पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा