
कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला गाउँपालिका–८ जुम्ला पुरु गाउँका कमल नेपालीलाई आज यो ठाउँमा पुगिन्छ भन्ने पत्तो नै थिएन । माटोका भाँडा बनाएर गाउँगाउँमा बेच्दै हिँड्ने कमलका बुबा पुस्तासम्म समाजबाट हेपिँदै आएको थियो । कथित उपल्लो जातबाट बुबा पुस्ता पनि माथि उठ्न नसकेको कमल बताउनुहुन्छ ।
अहिले भने कमलको परिवार त्यो अवस्थाबाट धेरै माथि आइपुगेको छ । यो अवस्थामा आइपुग्नुको जस भने उहाँ तत्कालीन सशस्त्र विद्रोहलाई दिनुहुन्छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र विद्रोह चलिरहेको बेला विसं २०५८ मा उहाँ पूर्णकालीन सदस्य भएर पार्टीमा लाग्नुभयो । आफ्नै छिमेकी गाउँ जुम्लाकोटमा राज्य पक्षले दिदी लालकुरा नेपालीलाई गोली हानेर मारेपछि उहाँ माओवादी बन्नुभएको थियो ।
विसं २०५९ देखि जनमुक्ति सेनामा जोडिएका नेपाली जुम्ला, अर्घाखाँची, बेनी, पाल्पा, बाँकेको कसुम, गणेशपुर, रुकुमको खारालगायत ४३ ठाउँमा लड्नुभएको थियो । अर्घाखाँची र खाराको लडाइँमा घाइते हुनुभएका उहाँलाई टाउको र हातमा गोली लागेको थियो । मुलुकमा शान्ति स्थापना भइसकेपछि नेपालीले विसं २०६३–२०६९ सम्म ६ नम्बर डिभिजन सुर्खेतको दशरथपुरमा सेनामा रहेर काम गर्नुभयो ।
दशरथपुरमा सेनाबाट रु पाँच लाखसहित स्वेच्छिक अवकाश लिएर बाहिर आएपछि शुरुमा उहाँले पोल्ट्री फर्म खोल्नुभयो । पछि युवराज प्रकृति अर्ग्यानिक खाद्य तथा फलफूल कोसेली अर्डर एन्ड सप्लायर्ससहित खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योग खोलेको उहाँले बताउनुभयो । वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत हाम्रो टोलमा रहेको अर्ग्यानिक खाद्य तथा फलफूल सप्लायर्सबाट उहाँले कर्णालीको अर्ग्यानिक कृषि उपज बिक्री वितरण गरिरहनुभएको छ ।
नेपालीले भन्नुभयो– ‘हामीले जिम्मु, टिमुर, सिमी, जौ तथा मकैको च्याङ्ख्ला, तिल, मसुरोका दाल, चिनो, कागुनोको चामल, काली मार्सी चामल, कर्णालीको सर्वोत्तम पीठो, भुटेको मकैको खाजा, कालो तथा खैरो भट्ट, फापर, कोदो, मकै, मिठे फापरको पीठो, ओखर लगायतका कर्णालीको उत्पादन बिक्री वितरण गर्दै आएका छौँ, बजारको माग बढ्दै जाँदा पुर्याउन मुस्किल भएको छ ।’
उहाँले प्रतिकिलोका हिसाबले सिमी दाना दुई सय ५० र दाल तीन सय, टिमुर एक हजार चार सय, ओखर एक हजार, जिम्मु चार हजार, घोडो मच्चो ६ सय, स्याउको चाना एक हजार दुई सय, मार्सी चामल प्याकेजिङ दुई सय ४०, कालो भट्ट एक सय ५०, फापर तीते एक सय ५० र मिठे तीन सय, चिनो, कागुनोको तीन सय, मसुरोका दाल दुई सय, मार्से (लट्टे) एक सय २० र खैरो भट्ट एक सय ४० रुपैयाँ मा बेच्ने गरेको बताउनुभयो ।
कर्णालीका १० जिल्लामा उत्पादित रैथानेबालीको सङ्कलन, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ, लेबलिङ र बिक्रीवितरण गर्दै आएको बताउनुभएका उहाँले अर्ग्यानिक कृषि उपजको उत्पादनमा वृद्धि ल्याउनुपर्ने सुझाउनुभयो । प्रदेश सरकारबाट ६ लाख रुपैयाँ अनुदान सहयोग पाएको जनाउँदै उहाँले सरकारले कर्णालीमा उत्पादित रैथाने बालीको संरक्षण, प्रवद्र्धन र वृद्धिमा जोड पुग्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
उहाँको अनुभूतिअनुसार सस्तो र महङ्गो वस्तु किनेर उपभोग गर्ने दुई प्रकारका उपभोक्ता छन् । महत्व बुझेका उपभोक्ताले अर्ग्यानिक कृषि वस्तु किनेर खान्छन् तर महत्व नबुझेका उपभोक्ताले आयतीत वस्तुलाई नै बढी प्राथमिकता दिने गर्दछन् । उहाँले भन्नुभयो– ‘खाद्य तथा फलफूल किन्दा उपभोक्ता सचेतना निकै ठूलो कुरा रहेछ, अब ‘टल्किने चीज होइन मौलिक, विदेशी होइन स्वदेशी उपज उपभोगमा जोड दिऔँ’ भन्ने बुझाउन जरुरी छ ।’
करिब एक दशकदेखि व्यवसाय गर्दै आउनुभएका नेपालीले मासिक ७० हजार रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । कर्म गरे स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ विश्वासमा अडिग उहाँलाई छोराछोरी पढाउन र परिवार पाल्न विदेश जानुपरेको छैन । अर्ग्यानिक कृषि वस्तुको उत्पादनमा जोड दिँदै प्रदेश तथा स्थानीय सरकारले नागरिकको खानपिन आदतलाई मौलिक परिवेशमा ढाल्ने कार्यक्रम तर्जुमा गर्न सके यहाँका नागरिकको स्वास्थ्य निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।
परिवर्तन र कर्मका निम्ति जस्तोसुकै जोखिम उठाउन तत्पर हुनेहरुले जीवनलाई आत्मनिर्भर बनाउन सक्दा रहेछन् भन्ने अनुभूति बल्ल भइरहेको बताउँदै नेपालीले भन्नुभयो– ‘मलाई राजनीतिक चाप र धक्काले व्यवसाय गर्न उत्प्रेरित गरायो, मनैभित्रबाट उब्जेको विद्रोहले बाँच्नका निम्ति सङ्घर्ष, अन्यायविरुद्ध लड्न र परिवर्तनका निम्ति जोखिम मोल्न सिकायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय