
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेकपा (एमाले) का सांसदहरुले विभिन्न माग राखी नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको छ ।
एमाले सांसदहरुले सरकारले मिटरब्याज पीडित तथा दूग्ध किसानका समस्या समाधानमा गम्भीर नभएको आरोप लगाउँदै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभयो ।
बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल एमालेलगायत अन्य विपक्षी दलका सांसदहरु आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटालाई बोल्न समय दिनुभएको थियो ।
सांसद बाँस्कोटाले विपक्षी दलले सदनमा उठाएका समसामयिक विषयमा सरकार गम्भीर नभएको, सभामुखले रुलिङ गर्दा समेत सरकारले कुनै जवाफ नदिएको टिप्पणी गर्नुभयो । उहाँले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँ आउनुपरेको अवस्थामा सरकारले वेवास्ता गरेको, दूधको मूल्य नपाएर किसानले दूध बाटोमा पोख्नुपरेको अवस्थामा समाधानमा कुनै पहल नगरेको आरोप लगाउनुभयो ।
सांसद बाँस्कोटाले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विवादित मन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गर्नुभयो ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडित जनताले न्याय नपाएको, दुग्ध किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको र लघुवित्त पीडितले न्याय नपाएको उल्लेख गर्दै समस्या समाधानमा ठोस सम्बोधन नभए बैठक अवरोध गर्ने चेतावनी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सभामुखबाट स्पष्ट रुलिङ गरेपछि सम्बन्धित मन्त्रीले जवाफ किन नदिएको भनी प्रश्न गर्नुभयो । उहाँले मिटर ब्याज पीडितका समस्या सम्बोधनका लागि कानुन बनेपछि सरकारले कार्यान्वयन गर्न नसक्दा उनीहरुले न्याय नपाएको बताउनुभयो ।
बैठकमा एमालेका सांसद आसनबाट उभिएपछि सभा सञ्चालनका लागि सभामुखले पटकपटक आग्रह गर्दा पनि नबसेपछि बैठक स्थगित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग