
महोत्तरी । उत्पादित मसला बेच्न बजारबजार दौडनु नपरेपछि भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन् । उत्पादित ओल र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि बिक्री गर्ने झण्झट समाधान भएको हो ।
भङ्गाहा–४ रामनगरस्थित गढीमाई कृषि सहकारी संस्थाले चलनचल्तीको मूल्यमा पालिका र आसपासका किसानका ओल र मसला किन्दै आएको छ । ‘उत्पादन राम्रो गराउन थप मेहनत गर्नुपर्ने भएको छ’ किसान राजकुमार दासले भन्नुभयो, ‘अहिले फसल बेच्न बजारबजार दौडनु पर्दैन । संस्थाले ओल र मसला किन्न थालेपछि बजारको चिन्ता हटेको छ ।’
तराईको विशेष तरकारी मानिने ओल र बेसार, खोर्सानी एवं अदुवा मिसाएर बनाइएको मसला सहकारी संस्थाले किन्न थालेपछि किसान बिक्री हुनेमा ढुक्क भएका हुन् ।
बर्दिबास–७ का रामउद्गार महतोले भन्नुभयो– ‘पहिला ओल खेती गरेपछि बजारको चिन्ता हुन्थ्यो, अब ढुक्क छौँ ।’ संस्थाले आफ्नो बस्तीसँगै जोडिएका बर्दिबास–७ र ९, तथा धनुषाको बटेश्वर गाउँपालिकाका खोरिया, भूचक्रपुर र राजसखुवासम्मका किसानका ओल र मसला उत्पादन किन्ने गरेको छ ।
संस्थाले तरकारी, अचार बनाइने ओल र मसला जातिका अदुवा, बेसार र खुर्सानी किन्न थालेपछि भङ्गाहा, बर्दिबास, प्रेमनगर, बटेश्वरलगायत स्थानका किसानलाई बजारको चिन्ता हटेको छ । ‘अघिअघि ओल, अदुवा बेच्न टाढाटाढाको बजार गइन्थ्यो । अहिले गढीमाई सहकारीले किन्न थालेपछि धेरै सजिलो भएको छ’ प्रेमनगरका ओल किसान सुफल महतोले भन्नुभयो ।
‘बेसार, खुर्सानी र अदुवा हाम्रो यताका मुख्य मसला खेती हुन् । यी सबै संस्थाले किन्छ’ पशुपतिनगरकी पारोवती महतोले भन्नुभयो– ‘संस्थाले किन्न थालेपछि ढुक्क भएका छौँ । आम्दानी पनि प्रशस्त हुन थालेको छ । रकम एकमुष्ट पाइने भएपछि गरगहना जोरजाम र अन्य महत्वपूर्ण गर्जो टार्न पाइएको छ ।’
संस्थाले बीउ वृद्धि र बाहिरी बजारको आपूर्ति गर्न थालेपछि स्थानीय उत्पादन किन्न थालेको जनाएको छ । अहिले दैनिकजसो नै ओल र मसला तौलाउन किसान आउने गरेका संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताउनुभयो । उहाँका अनुसार गत असोजयतादेखि संस्थाले करिब १० लाख रुपैयाँ भन्दा बढीको उत्पादन किनेर मुलुकका विभिन्न स्थानमा पठाएको छ ।
यहाँको ओल बीउका लागि सूदुरपश्चिमको डडेलधुरासम्म पु¥याइएको अध्यक्ष यादवले जानकारी दिनुभयो । ‘अहिले अन्य जिल्लाका कृषि सहकारीले ओल, बेसार र अदुवा माग्ने गरेका छन्’ उहाँले भन्नुभयो– ‘यस वर्ष हालसम्म पूर्वको कोशी र पश्चिमको कञ्चनपुर, कैलाली र डडेलधुरासम्म दुई सय क्विन्टल भन्दा बढी ओल पठाएका छौँ ।’
संस्थाको आफ्नै कार्यालय भवन र सुरक्षित भण्डार कक्ष भएकाले किनिएका सामग्री सुरक्षित भण्डारण गरेर मागअनुसार अन्यत्र पठाइने गरिएको यादवको भनाई छ।
गढीमाई कृषि सहकारी संस्थाले स्थानीय उत्पादन किन्न थालेपछि उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि ज्ञानकेन्द्र महोत्तरीले जनाएको छ । महोत्तरीका भङ्गाहा, बर्दिबास र गौशाला नगरक्षेत्र ओल र मसलाखेतीको उर्वर क्षेत्र मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ