
चितवन । सिँचाइको अभावमा भरुभूमिजस्तै रहने गरेको मकवानपुरको बागमती गाउँपालिका–२ स्थित राईगाउँ यतिखेर हराभरा भएको छ। आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका बासिन्दा अहिले लिफ्ट सिँचाइको व्यवस्थासँगै सदाबहार खेती गर्न केन्द्रित भएका छन् ।
अघिल्ला वर्षहरूमा यतिबेला माटो उड्ने गरेका खेतमा अहिले भने मकै हराभरा भएका छन् । असारमा धान र चैतमा मकैखेतीमात्रै गर्ने उनीहरू अहिले बेमौसमी मकैखेतीमा केन्द्रित भएका छन् । मकवानपुरको यस गाउँपलिका वडा नम्बर २ मा चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले नयाँ प्रविधिसहित सिँचाइको व्यवस्था गरेसँगै उनीहरू कृषिकर्ममा व्यस्त रहने गरेका छन् । आयोजनाले बागमती नदीको पानीलाई लिफ्ट सिँचाइ प्रणालीबाट खेतखेतमा पानीको व्यवस्था गरेपछि स्थानीय कृषि कर्ममा उत्साहित बनेको स्थानीय घनश्याम विक बताउनुहुन्छ ।
आयोजनाले ६५ लाख रुपैयाँको लागतमा बागमती नदीको पानीलाई तानेर गाउँमा पुर्याएपछि त्यहाँका बासिन्दा उत्साहित भएर लागेको उहाँले बताउनुभयो । बाढीमा समेत मोटरको सुरक्षा गर्नेगरी आयोजनाले सिँचाइको व्यवस्था गरेपछि यस क्षेत्रका युवासमेत खेतीमा आकर्षित भएको विकले बताउनुभयो ।
नदीको पानीलाई तानेर एक हजार पाँच सय मिटरसम्म सिँचाइको व्यवस्था हुँदा गाउँ नै फेरिएको उहाँको भनाई छ । नियमित सिँचाइको व्यवस्था भएपछि यस क्षेत्रको एक सय ५० बिघा क्षेत्रफलमा सिञ्चित भएको उहाँले बताउनुभयो । विकले भन्नुभयो– ‘विदेश जाने सोच बनाएको थिएँ, अब त्यो सोचलाई परिवर्तन गरेको छु ।’
स्थानीय राजकुमार सेन्चुरीले अहिले आफ्नो बारीमा मात्रै नभएर छिमेकीको बारीमा समेत मकैखेती गर्दै आउनुभएको छ । सिँचाइ भएपछि गाउँमा हरित क्रान्ति भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिला यो समयमा बारीमा धुलो उड्थ्यो, अहिले हरियाली भएको छ ।’
स्थानीयले यस वर्ष मकै बेचेरमात्र एक करोड आम्दानी गर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले मकैको बीउमा अनुदान दिएर मकैखेती गर्न प्रोत्साहन गरेको छ । बागमतीको पानीले यस क्षेत्रलाई १२ महिना नै हरियाली बनाउन सहयोग गरेको उहाँको भनाई छ । भदौदेखि राइगाउँबजार लिफ्ट सिँचाइ आयोजनाले किसानलाई पानी उपलब्ध गराउन थालेको हो । पहिला आफूहरूको आम्दानीको स्रोत केही नभएर विदेश जानुपर्ने बाध्यता भए पनि अब भने त्यस्तो नभएको उहाँले बताउनुभयो ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख ई देवकुमार स्याङ्बो यो परियोजनाले यस क्षेत्रको मुहार फेर्न सफल भएको बताउनुहुन्छ । नयाँ प्रविधिबाट नदीको पानीलाई गाउँमा पुर्याइएको हो । क्रेन लिफ्ट सिँचाइ प्रविधिबाट सिँचाइको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘वर्षातको समयमा बाढी आउँदा मोटरको सुरक्षाका लागि क्रेनेल मोटरलाई माथि तान्नेगरी आयोजना सम्पन्न गरिएको छ । आधुनिक सिँचाइ प्रणालीबाट यस क्षेत्रको सिँचाइ गरिएको बताउँदै उहाँले अहिले क्षेत्रफल विस्तारको काम भइरहेको बताउनुभयो । स्थानीयले क्षेत्रफल विस्तारका लागि बजेट माग गरेको उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति