
चितवन । पुल निर्माणका लागि पहाड काट्न दिउँसोको समयमा बन्द गरिदै आएको मुग्लिङ– नारायणगढ सडकखण्ड फागुन १२ गतेदेखि नियमित खुल्ने भएको छ । तुइन खोलामा पुल बनाउन ३५ मिटर पहाड काट्नु पर्ने भएपछि गत पुसदेखि यो सडकखण्ड दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन चलाउन बन्द गरिँदै आएको थियो ।
सडक बन्द गर्न फागुन १२ गतेसम्मको म्याद रहेको छ । सो समयमा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले अब बाटो बन्द नगरिने नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।
पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि वैकल्पिक बाटो नहुँदा सडक बन्द गरेर काम गरिएको थियो । उहाँले भन्नुभयो, “अब काम करिब अन्तिम चरणमा पुगेको छ । बाँकी रहेको छ दिनमा धेरै भाग कटान गरिने छ ।” इन्जिनियर आचार्यले सो समयमा कटान बाँकी रहेमा अन्य उपायबाट कटान गरी सवारीसाधन खुला गरिने जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गत पुस ७ गतेदेखि सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो । पहिलो चरणको समयमा काम नसकिएपछि समय थप गरेर फागुन १२ गतेलाई समय दिइएको थियो । भरतपुर महानगरको भ्रमण वर्षको उद्घाटन फागुन १८ गते हुने भएकाले आयोजनाले पहाड फोड्ने कामलाई तीव्रता दिएको छ । सडक बन्द गरेर काम गर्दा भ्रमण वर्षलाई असर पर्ने भएकाले यही १२ गतेपछि मुग्लिङ–नारायणगढ सडकखण्डमा गरिँदै आएको बन्द हट्ने आयोजनाले जानकारी दिएको छ ।
उच्च क्षमताका तीन वटा एक्साभेटर प्रयोग गरेर चट्टान फोर्ने काम भइरहेको भए पनि कडा चट्टान भएकाले काममा ढिलाइ भएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर चट्टान स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो ।
सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको छ । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० देखि पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपियाँ छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग