
कञ्चनपुर । माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि यता आउनुभएको हो । बाजेले गर्दै आएको काम उहाँका बुबा चिरौँजीलालले पनि निरन्तरता दिनुभयो । अहिले त्यही काम वीरपालले सम्हाल्दै आउनुभएको छ ।
वर्षौँदेखि यहाँ बस्दै आउनुभएका उहाँसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ । त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उहाँले सट्टाभर्ना पाउन भने सक्नुभएको छैन । तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको उहाँले सट्टाभर्ना नपाउनुभएको हो । “देशमा त्यसबेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो”, उहाँले भन्नुभयो, “जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन सकिएको छैन ।”
नेपालमै उहाँको जन्म भयो, यहाँ तीन पुस्ता बित्यो । नेपाली नागरिकताका लागि पहल गरे पनि त्यो भने पाउन नसकिएको उहाँले बताउनुभयो । कञ्चनपुर जिल्लामा उहाँ एक्ला माटोका भाँडाकँुडा बनाउने व्यक्तिका रूपमा चिनिनुहुन्छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्र भत्तपुरीबाट विस्थापनमा परेपछि वीरपालले भाडामा जग्गा लिएर माटोका भाँडा बनाउँदै आउनुभएको छ । उहाँ विभिन्न ढाँचामा आकर्षक गमला, लोटा, करुवा, घैँटो, गोलक बनाउनुहुन्छ । कम्तीमा रु १५ देखि बढीमा रु दुई सय ५० मा उहाँले बनाएका भाँडाकुँडाको किन्न पाइन्छ । यद्यपि ती वस्तुको मूल्य बजारमा फरक छ ।
वार्षिक रु चार लाख कमाइ हुने उहाँ बताउनुहुन्छ । माटो, दाउरा, जग्गाको भाडा, कामदारको ज्यालामा रु दुई लाख ५० हजार जति खर्च हुने गरेको छ । बचेको रकमले घरखर्च चल्ने गरेको उहाँले बताउनुभयो । “परिवारको लत्ताकपडादेखि राशनपानीमै काम गरेर कमाएको रकम खर्च हुन्छ”, उहाँले भन्नुभयो, “बिरामी परे अरुसँग सापटी लिनुपर्दछ ।” व्यवसाय दर्ता गरेर उहाँले काम गर्दै आउनुभएको छ । तर अन्य भारतीयले भारतबाटै भाँडाकुँडा ल्याएर सस्तोमा बिक्री गर्दा उहाँको व्यवसाय सङ्कटमा परेको छ ।
“अवैधरूपमा बजार क्षेत्रमा भारतीयले माटोका भाँडाकुँडा खुला सीमानाका हुँदै राजस्व नतिरेर भित्र्याउने गरेका छन्”, उहाँले भन्नुभयो, “मेरै नाम लिएर बेच्छन्, वडा कार्यालय र प्रहरीलाई यसबारे खबर गर्दा पनि अवैध कारोबार नरोकिँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ, परिवारको रोजीरोटी खोसिन थालेको छ ।” अन्य काम गर्नेका लागि सरकारले अनुदानको व्यवस्था गर्दै आए पनि कुमालेका लागि कुनै कार्यक्रम नहुँदा उहाँ हतोत्साहित हुनुहुन्छ । वडाध्यक्ष नवलसिंह रानाले पुर्खौँदखि वीरपालको परिवारले काम गर्दै आए पनि नागरिकता नपाउँदा अनुदानलगायत सुविधाबाट बञ्चित रहनुपरेको बताउनुभयो । “कानुनी प्रक्रिया पूरा गर्न नागरिकता चाहिन्छ”, उहाँले भन्नुभयो, “त्यो नभएपछि कुनै पनि कार्यक्रममा समावेश गर्न सकिँदैन ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध