
चितवन । भरतपुरको मुख्य शहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम शुरु गरेको हो ।
महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा बढी नापजाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापी अधिकृत विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार पुङ्गीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब छन् ।
दियालो फुडल्याण्डले पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको उहाँले बताउनुभयो । ‘हामीले अहिले नै यति भन्न सक्ने अवस्था छैन । प्रारम्भिक अनुमान गर्दा दुई कठ्ठा हाराहारीमा अतिक्रमण भएको छ’ उहाँले भन्नुभयो । पर्खाल र टपमात्र पर्ने घरहरूको सङ्ख्या धेरै रहेको उहाँले बताउनुभयो । खोला र नहरबाट ३ मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ । तर कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन् । सीमाङ्कनको काम एक महिनाभित्र सकिने उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका–२ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ २०२५ सालमा लमजुङबाट चितवन झर्दा नारायणगढ क्षेत्रमा फाट्टफुट घर थिए । उहाँ हाल बस्दै आएको रामकृष्ण टोल छेउबाट पुङ्गीखोला फराकिलो हुँदै बग्दथ्यो । आजभोलि त्यो फराकिलो खोला उहाँले देख्न नपाएको बताउनुहुन्छ । खोला साँघुरिँदै गएको छ । अहिले मानिसले खोला मिच्दै गएका छन् । ‘यहाँ यो खोला कहीँ साँघुरो र कहीँ फराकिलो हुँदै बग्थ्यो’ पूर्वशिक्षक समेत रहनुभएका गुरुङले भन्नुभयो– ‘अहिले ठूल्ठूला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन् ।’ स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका–११ गणेशधामबाट सुरु हुने यो खोला वडा नम्बर २, ३ र वडा नम्बर ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे छ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नम्बर २ मा मिचिएको छ । रामकृष्ण टोल, जलदेवी टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नम्बर ३ को आनन्दमार्गमा खोला बढी मिचिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २ को वडा कार्यालय पूरै खोलाको जमिनमा पर्दछ । भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यापालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार खोला र ऐलानी जग्गा गरेर पाँच कठ्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ । यो खोलाको चौडाइ एक नासको छैन ।
सब्जीमण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपिआइ कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन । यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत सङ्कलन गर्ने एकखालको मौखिक सहमति भएको छ । अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको नापी अधिकृत देवकोटाले बताउनुभयो ।
महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दायाँबायाँ हरियाली उद्यानसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ । अहिले गणेशस्थानबाट काम समेत शुरु भएको छ । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा एक करोडको लागतमा तलाउ निर्माण र हरियाली उद्यानसहित सौन्दर्यीकरणका काम गरिएको छ ।
गुरुयोजनामा उद्यान, फुटपाथ, साइकल ल्याण्डलगायतका संरचना बन्नेछन् । खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचाना हटाइने भरतपुर महानगरपालिका प्रमुख नरेन्द्रकुमार राना बताउनुहुन्छ । ‘खोला अतिक्रमण कसैले गर्न पाउँदैन । बनेका संरचना छन् भने सबै हटाइन्छ’ उहाँले भन्नुभयो– ‘वडाको भवन बनेको भए पनि भत्किन्छ ।’ तलाउ निर्माण ६६ लाखमा सक्नेगरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । तलाउ निर्माण पश्चात खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति