
लमजुङ । समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालीगुराँसले पर्यटकलाई आकर्षित गर्न थालेको छ । लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालीगुराँसले आकर्षित गर्न थालेको हो ।
समयअगावै फुलेका लालीगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले बताउनुभयो । माघको पहिलो सातादेखि लालीगुराँस फुल्न थालेको भन्दै अहिले यहाँ सञ्चालित घरवासका साथै घुम्न आउने पर्यटकलाई लोभ्याइरहेको उहाँको भनाई छ ।
‘यहाँ रहेका सांस्कृतिक, ऐतिहासिकस्थल, संस्कृति र यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने गरेपनि यतिबेला लालीगुराँस पर्यटकका लागि थप आकर्षणको केन्द्र बनिरहेको छ’ गुरुङले भन्नुभयो । चैत–वैशाखमा फुल्ने लालीगुराँस समय अगावै फुलेपछि हेर्नका लागि पर्यटक आउने गरेका उहाँको भनाइ थियो । उहाँका अनुसार यहाँ आइपुगेका अधिकांशले लालीगुराँससँग फोटो खिच्ने र भिडियो बनाएर रमाउने गर्दछन् ।
गत शनिबार लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जनविकास कलेजबाट साथीसँग पिकनिक आएका भूमिका गुरुङले पहिलो पटक आफू यहाँ आएको भन्दै यतिधेरै लालीगुराँस फुलेको देख्दा निकै रमाइलो लागेको बताउनुभयो । कलेजबाट आफूसहित ६० जना यहाँ आएको उहाँको भनाई छ ।
नगरप्रमुख एवं होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले यतिबेला पर्यटक आगमन भइरहेको जनाउँदै घरवासमा बस्ने भन्दा घुम्ने, पिकनिक खाने प्रयोजनका लागि बढी आउने गरेको बताउनुभयो । उहाँका अनुसार शुक्रबार, शनिबार र बिदाका दिनमा दुई सयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।
भूकम्पले यहाँका घरहरु भत्किएर पुनःनिर्माण भएपछि २०७५ साल फागुनदेखि ११ घरबाट घरबास शुरुवात भएकामा यतिबेला सिङ्गो गाउँ (१७ घर) मा घरवास सञ्चालन भइरहेको गुरुङले जानकारी दिनुभयो । पछिल्लो समय पर्यटकको उल्लेख्य आगमन हुन थालेपछि यहाँका सबै घरमा घरबास सञ्चालन गरिएको उहाँको भनाई छ । यहाँका स्थानीयवासीले यही पेशाबाट आम्दानी जीविकोपार्जन गरिरहेका नगरप्रमुख गुरुङले बताउनुभयो ।
यहाँ सञ्चालित घरबासबाट वार्षिक करिब तीन–चार लाख रुपैयाँ आम्दानी हुँदै आएको समितिका उपाध्यक्ष विष्णु गुरुङले बताउनुभयो । ‘घरवास सञ्चालन अघि यहाँ विकासका पूर्वाधार थिएन । गाउँबँेसी गर्न पनि समस्या थियो’ उहाँले भन्नुभयो, ‘खेतीपातीबाट उत्पादित अन्नले तीन÷चार महिना मात्रै पुग्थ्यो । अहिले होमस्टे सञ्चालनमा आएपछि यहीँ व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् ।’ होमस्टे सञ्चालन गरेसँगै स्थानीयवासीको जीवनस्तरमा सुधार आएको उपाध्यक्ष गुरुङको भनाई छ ।
पालिकाको सहयोगमा यहाँ सञ्चालित घरबासमा पर्यटन पूर्वाधार विकासका काम भइरहेको नगरप्रमुख गुरुङले जानकारी दिनुभयो । उहाँले कृषि र पर्यटनलाई पालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमालसहित १८ वटा हिमाल देख्न सकिन्छ । नेपाल एकीकरणको शुरुका विन्दुका साथै प्राकृतिक रूपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ भएको स्थानीय बताउँछन् । विश्वकै पहिलो योग स्तम्भ पनि राइनासकोटमा छ ।
यहाँ राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव, वीरभक्ति थापाको शालिक लगायत ऐतिहासिकस्थल रहेका नगरप्रमुख गुरुङले जानकारी दिनुभएको छ । बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहासमा उल्लेख छ। ऐतिहासिकस्थल राइनासकोटलाई भिटोफ नेपालले सन् २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो । २०७४ सालमा गण्डकी प्रदेश सरकारले घुम्नुपर्ने ११० उत्कृष्ट गन्तव्यमध्ये राइनासकोट परेको थियो भने २०७६ मा नेपालकै उत्कृष्ट होमस्टेमा परेको थियो ।
गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सङ्ग्राहालय रहेको छ । यहाँ गुरुङ समुदायको संस्कार, संस्कृतिदेखि घाँटु, कृष्ण चरित्रलगायत नृत्य प्रस्तुत गरिन्छ । घरबासमा आउने पर्यटकका लागि १ हजार एक सय ५० रुपैयामा खानाको व्यवस्था गरिएको समितिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार घरवासमा आएका पर्यटकले खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान खाजा खान पाउँछन् ।
पर्यटकलाई कोदाको सेलरोटी तथा मकै, गेडागुडीसहित तामा, गुन्द्रुक, भटमासको अचारका परिकार दिने गरिएको घरवास सञ्चालकको भनाई छ ।। पर्यटकले स्थानीय रुपमा कोदोबाट तयार गरिएको लोकल रक्सीको स्वाद पनि लिन पाउँछन् ।
स्थानीयका अनुसार नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका थिए । राइनासकोट ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक अध्ययनका लागि उपयुक्त ठाउँ हो । यातायातको सुविधा रहेकाले यहाँसम्म पर्यटकका सवारी साधनमा सहज रुपमा पुग्न सक्छन् । लमजुङ–तनहुँको सिमाना लमजुङ सुन्दरबजार नगरपालिका–७ पाउदी बजारबाट राइनास नगरपालिका –८ हुँदै करिब १३ किलोमिटर सडक पार गरेपछि यहाँ पुग्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा