
ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकतावद्ध बनाएर लैजानेमा विश्वास व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले सोमबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमिति बैठक देश र विदेशले समेत उत्सुकतापूर्वक हेरेको उल्लेख गर्नुहुँदै कांग्रेसलाई थप, सबल, सुदृढ र एकतावद्ध बनाएर लैजाने बताउनुभएको हो।
उहाँले पार्टीमा निरन्तर क्रियाशील रही लोकतन्त्र स्थापना, पुनःस्थापना र रक्षाका लागि जेलनेल, निर्वासन, सर्वश्वहरण लगायतका दुःखकष्ट सहेर पार्टीलाई सुदृढ बनाउन प्रयत्नशील रहेका सबै नेता तथा कार्यकर्ताको उच्च सम्मान गर्नुभयो ।
सभापति देउवाले १४औँ महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्तावेज प्रस्तुत गरी छलफल गर्न नपाइएको भन्दै यस महासमिति बैठकले पार्टीका नीतिगत विषयमा छलफल गरी बैठकमा प्राप्त सुझावलाई समेटेर दस्तावेज तयार गर्ने बताउनुभयो ।
‘कांग्रेसले देशमा लोकतन्त्र स्थापना पुनःस्थापना र संरक्षणका लागि लामो सङ्घर्ष गरेको इतिहास छ, मुलुकमा जहिले सङ्कट पर्छ, त्यतिबेला काङ्ग्रेसले नेतृत्व गरेर समाधान दिएको छ’ उहाँले भन्नुभयो– ‘लोकतान्त्रिक मूल्य मान्यतासँग कहिल्यै सम्झौता नगर्ने दृढताका कारणले नै यो पार्टी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सफल भएको हो ।’
पूर्वप्रधानमन्त्री देउवाले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको भन्दै यो शासकीय स्वरुप नेपाली कांग्रेसको मान्यताअनुकुल रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधानको रक्षा र सार्थक कार्यान्वयन गर्नु आजको मुख्य एजेण्डा रहेको बताउनुभयो ।
सभापति देउवाले अहिले मुलुकमा गठबन्धनको अभ्यास भइरहेको बताउनुहुँदै सरकार निर्माणका लागि मात्रै गठबन्धन बनेको नभइ केही समय पहिले प्रतिनिधिसभालाई विघटन गर्ने मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र संविधानलाई जोखिममा पार्ने गतिविधिविरुद्ध एकाकार भएर मुलुकलाई सम्बृद्धिको दिशामा अगाडि बढाउन खोजिएको उल्लेख गर्नुभयो ।
उहाँले कांग्रेस सदैव संवाद, सहमति र सहकार्यको नीतिमा रहेको बताउँदै राजनीतिक दलबीच हुने प्रतिस्पर्धा स्वभाविक भएको उल्लेख गर्नुभयो । देशको सार्वभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउने विषयमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा