+

चेतना, विकास र धर्मनिरपेक्षता

बेनुप्रकाश कार्की
राज्यको कुनै एक धर्म , जात , सम्प्रदाय वा पन्थ मात्र हुँदैन । राज्यभित्र सबै समुदायको बसोबास हुन्छ र राज्य सबैको साझा हुनुपर्छ । कुनै धर्म मान्नु या नमान्नु नागरिकको स्वतन्त्रताको कुरा हो । कुनै पनि कुरा विश्वास र आस्थाको कारणबाट मात्र प्रमाणित हुन सक्दैन त्यसको लागि तथ्य प्रमाणको आधारमा र व्यवहारमा प्रमाणित हुनुपर्दछ । जुनसुकै धर्म र पन्थको निर्माणको आधार भनेको परम्परागत विश्वासको जगमा उभिएको हुन्छ जुन व्यवहारमा समाजको चेतनाको विकाससँगै स्वत गलत बनिसकेको हुन्छ । 

नेपाली समाज बहुलवादी समाज हो र यहाँ बस्नेहरुका फरक फरक संस्कार र संस्कृति छन । विभिन्न जातजातिले मिलेर बनेको नेपाली समाजको बहुरंगी सुन्दरतालाई हामीले जोगाएर र सजाएर राखेका छौँ ।  यो हाम्रो मौलिकता हो र हाम्रो राष्ट्रिय पहिचान पनि हो । विविधतामा एकता हाम्रो मूल संस्कार हो र सबै नेपाली नागरिकको साझा एकताको आधार हो । विविधता युक्त समाजमा कुनै एक धर्म मान्ने र त्यसको सापेक्षमा सम्पूर्णले त्यसको एकलौटी विश्वास गर्ने र सम्पूर्ण सामाजिक आचरण त्यसैको मातहतमा राज्यको नियम बनाएर कानुन त्यहीं मतको आधारमा बन्ने हुनु हुँदैन।

कुनै एक पन्थबाट विधि निश्रृत हुने वा विज्ञानको तथ्यका आधारमा सामाजिक रुपान्तरण हुने अनि सभ्य र विकसित समाजमा रुपान्तरित हुँदै संसारका उत्कृष्ठ नागरिक बन्ने भन्ने कुरा हाम्रो समाजको संक्रमणकालीन आन्तरिक अन्तरघुलन र अन्तर संक्रमणको अवस्थामा अहिले हामी रहेका छौं । सबैका आआफ्ना पहिचानलाई सबैले महत्व नदिने कुरै भएन र त्यसो मात्र गर्न थालियो भने समाजमा आपसी सदभाव कायम राख्न पनि सकिन्न । यी विषय अन्तरविरोधरहित बनाएर  समाजलाई अघि बढाउन राज्यको कुनै एकपन्थको एकलौटीपन नभई साझा मनोभावनाको विकास गर्न नै संविधानमा धर्मनिरपेक्षता व्यवस्था गरिएको हो । 

धर्मनिरपेक्ष राज्य भनेको राज्यको कुनै एकधर्मको बाहुल्यता वा वर्चस्वको अन्त्य नै हो । कुनै एकपक्षको एकलौटी हुनु लोकतन्त्रिक विधि हुँदै होइन । एकपक्षको बर्चस्व हुनु र त्यसैको आधारमा समाजले जबरजस्त लतारिनु भनेको निरंकुशता नै हो । आफूलाई लोकतान्त्रिक र लोकसम्मतीको आधारमा सबैको भावनाको कदर गरेर अगाडि बढ्ने हाम्रो मान्यताको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष राज्यको व्यवस्था संविधानमा भएको हो । हाम्रो संवैधानिक व्यवस्थामा  बाहिरियाहरुको दबाव दिने कार्यको लागि संविधान बनाउँदादेखि नै दक्षिणी छिमेकीबाट असन्तुष्टि प्रकट भएकै हो । त्यसलाई हामीले साझा प्रयासबाट परास्त गरेर नै हामी अहिले यो सम्बैधानिक अवस्थामा आइपुगेका छौंँ। यो एकतालाई भाँडेर आफ्नो आफ्नो रोटी सेक्ने बाहिरियाहरुको कुप्रभावमा हाम्रो कमजोर चेतना बहिकिनु बाहेक संविधानको व्यवस्था विपरीत अतिवादको नारा लगाउनु अरु केही होइन । यो गम्भीर भूल हो र राज्यविरुद्धको गतिविधि हो । 

हिन्दू हुन् अथवा सनातन धर्मावलम्बी बन्न यो संविधानले कहिं कतै अवरोध गरेको छैन साथै हिन्दू तथा सनातनीलाई संविधानले थिचोमिचो पनि गरेको छैन । हाम्रो देशमा हिन्दू बाहेक वैष्णव, हरि, प्रणामी, नाथसम्प्रदाय, बुद्ध, जैन, रजनिश पन्थ ,कृश्चिय, मुस्लिम ,साक्त वा शैव, बोन्पो र बोन वा धामितन्त्र र मष्टपूजा, किराँत र मुन्धुम विधि , प्रकृति पूजक तथा अन्य विविध समुदाय यहाँ बसोबास गरिएको छ  । कुनै धर्म मान्ने र नमान्ने व्यक्तिको स्वतन्त्र अधिकार हो ।

मान्छेलाई अछुत भन्ने र अपमानित गर्ने , मन नपरेका र हेपिएकालाई बोक्सी र बोक्साहरु भनेर अन्याय गर्ने , दास दासी तथा दासानुदास प्रवृत्तिको विकास गर्न साथै अदृश्य र अप्रमाणित कुराको भ्रामक कुतर्क गरेर सेवक र सेविका बनाउने , छोराछोरीलाई दानको वस्तु मानेर कन्यादान दिने , रित भाँतमा वाकदान गर्ने , धर्मपुत्र धर्मपुत्री दिने लिने ,मान्छेले मान्छेको चाकडी गर्ने गराउँने र मानिस नै ईश्वरको अवतार भएको भ्रामक विचारको प्रचार गर्ने, मान्छेको शरीर वा अंग धोएर पानी ग्रहण गर्ने , मानिसलाई कुप्रभावमा पारेर बेघरवार र अनुयायी बनाउने आदि सबै अमानवीय र अलोकतान्त्रिक संस्कार हुन । यी सबै सचेतनताको कमी भएको समाजमा फष्टाएका कुरिती हुन् ।  यस्ता गलत पक्षलाई धर्म मानिनु पाप कर्म हो धर्म हुँदै होइन । हामी आफ्नो संस्कृति सनातन संस्कृति कै निरन्तरताले अहिले सम्म चलिरहेको मानिस हौ ।  गलत फोवियाबाट विकास भई विज्ञान र प्रयोग सिद्ध प्रमाणको आधारमा मानिसका व्यवहार हुनु अत्यावश्यक छ । लोकतन्त्रको उन्वयन तर्फको यात्रा हामी सबैको प्रयासबाट मात्र सम्भव छ । 

सामाजिक र राजनीतिक चेतनासँग जोडिएको समाज विकासको लागि गरिने विचार र चिन्तन अभियान हो । राजनीतिक परिवर्तन सामाजिक मतको बलमा निर्माण हुने कुरा हो भने सांस्कृतिक परिवर्तन समाजको चेतनाको अभिवृद्धि र अभिमतबाट समाजको रुपान्तरित हुने प्रकृया हो । समाज रुपान्तरण हुन समाजको गुण परिवर्तन हुने कुरा हो भने राजनीतिक परिवर्तन केवल रुप परिवर्तन मात्र हो ।  त्यसैले राजनितिक परिवर्तन सजिलै भए पनि सामाजिक र सांस्कृतिक रुपान्तरण लामो संक्रमणकालीन अवस्था पार गरेर मात्र परिवर्तन सम्भव छ । हामी सबै हिसाबले परिवर्तित सभ्य समाज निर्माणको  महाअभियानमा छौँ र रुपान्तरित हुँदै तथा सिक्दै सिकाउँदै अघि बढिरहेका छौं ।

नेपालमा जब प्रजातन्त्र हुँदै लोकतन्त्रको बिगुल बज्यो हो त्यहीं समयदेखि समाजमा नवीन चेतना र विज्ञान प्रविधिमा रुपान्तरणको संक्रमण शुरुवात भयो । हामी अहिले यो सामाजिक चेतनामा आइपुग्न हाम्रा इतिहास पुरुषहरुको ठूलो त्याग तपस्या र बलिदानको योगदान छ । अग्रज राजनीतिककर्मी  र सामाजिक अभियन्ताहरु समाज विकासका आधार स्तम्भ हुन । कम्युनिष्ट पार्टीका अग्रजहरु मनमोहन , पुष्पलाल , मदन भण्डारी जस्ता सामाजिक रुपान्तरणका अभियन्ताहरु र विपी , गणेशमान जस्ता कांग्रेस नेताहरु तथा अगुवा स्वतन्त्र र स्वाभिमानी अभियन्ताहरुले समाज विकासमा  गरेको योगदानले नै हामी दास युगको चेतनाबाट लोकतान्त्रिक चेतनामा विकास हुँदै यहाँ आइपुगेका छौँ । 

समाज विकासको चरणबाट पछाडि फर्काउन अहिले धेरै खाले व्यक्ति लहडको पछुवा प्रवृति देखिन थालेको छ ।  हाम्रो देशको परिवर्तनको महाअभियानमा बाधा हाल्न दक्षिण लगायत धेरै प्रकारका शक्तिकेन्द्रहरु प्रत्यक्ष अप्रत्यक्ष रुपले स्वार्थको रोटी सेकी रहेका छन । यसप्रति हामी सबै सचेत हुनुपर्दछ । विभिन्न रंगका रंगिबिरंगी छेपाराहरु सपना बाँडेर सामाजिक सद्भाव र राजनीतिक विकासको गतिलाई तितरबितर गर्न अरुको बहकावमा लागेर गलत गतिविधि गरेको हामीले प्रष्टसँग बुझ्नु आवश्यक छ । 

कम्युनिस्ट नामका गैरकम्युनिष्टहरु गति छोडेर गलत गतिविधिसँगको लसपस भित्र भित्रै गरिरहेको समेत देखिन थालेका छन ।  अर्कोतिर कांग्रेस पार्टी भित्र पनि वैचारिक अपरिपक्वताले पार्टीभित्र धर्मनिरपेक्षताविरुद्ध अलोकतान्त्रिक अतिवादको आवाज  साउती गरिरहेको सुनिन थालेको छ ।  यो लोकतन्त्रको लागि शुभलक्षण होइन । लोकतान्त्रिक समाजमा पछौटे व्यक्तिपूजक र  मान्छेलाई ईश्वरको अवतार हो भन्ने विचार लिएको चिन्तनको पक्षमा बोल्ने र वकालत गर्ने कुरालाई लोकतान्त्रिक र धार्मिकता हो भन्न सकिदैन त्यो कुरा पश्चगामी विचार हो । 

कांग्रेसजनहरु त्यस्तो गलत बाटोको चिन्तनबाट मुक्त रहन सक्नुहुनेछ र सबै कम्युनिष्टहरुले त गलत बाटो पक्कै रुचाउँने छैनन । त्यसै गरेर सम्पूर्ण लोकतन्त्रवादीहरु धर्मनिरपेक्षताको पक्षमा एकतावद्ध छन् । सबै लोकतन्त्रवादी बन्दै हाम्रो समाजलाई सभ्य र विकसित समाज निर्माणमा योगदान गरौँ ।  राज्यको धर्मनिरपेक्षता हाम्रो साझा एकताको आधार हो र निरंकुशताविरुद्धको बहुलताको सूत्राधार हो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै