
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो ।
पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्कअनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन् । फागुन लागेसँगै पर्यटक आवागमनमा वृद्धि भइरहेको पर्यटक प्रहरी इन्चार्ज प्रहरी हबल्दार शङ्कर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सगरमाथा क्षेत्रमा विदेशीको चाप बढिरहेको छ ।” उहाँका अनुसार पर्यटक आगमनसँगै घरबास, होटल बन्द गरेर न्यानोस्थलमा गएका उद्यमी तथा होटल व्यवसायी पनि काममा फर्केका छन् ।
“सगरमाथा क्षेत्र विदेशीमय हुन थालेको छ, अब सिजन सुरु भयो र मौसम पनि अनुकूल भएकाले व्यवसाय वृद्धि पनि अपेक्षा गरिएको छ”, स्थानीय तोयाकुमार श्रेष्ठले रासससँग भन्नुभयो । उहाँले भन्नुभयो, “विदेशी धमाधम आउन थाले, तर यो वर्ष दुःखको कुरा डाँडा आसपासका क्षेत्र सुक्खा छन्, खासै हिउँ परेन । हिउँ परेको भए पर्यटक दङ्ग पर्थे ।”
यस क्षेत्रमा सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा छन् । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुगजस्ता पक्षी पाइन्छन् । सगरमाथा क्षेत्रमा आउने पर्यटकले यहाँको दृश्यावलोकन, वन्यजन्तुको अवलोकनलाई प्राथमिकतामा राखेर भ्रमण गर्ने गरेका छन् ।
लुक्लाको हवाई सेवामा चाप
खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई यात्रुको चाप वृद्धि भएको छ । काठमाडौँबाट सगरमाथा क्षेत्र आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढेसँगै काठमाडौँ–लुक्लाको जहाजमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका एअर ट्राफिक कन्ट्रोलर सञ्जय श्रेष्ठका अनुसार काठमाडौँबाट अहिले दैनिक १० देखि १२ उडान भइरहेका छन् । रामेछापबाट हेलिकप्टर चार्टर गरेर पनि पर्यटक आउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति