
लमजुङ । लमजुङ गुरुङ जातिको उद्गमस्थल हो। पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन् ।
एकै ठाउँमा सँगै भएर बस्न रुचाउने गुरुङ समुदायबीच एकता पनि छ। रोदी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, बाबा समूह, युवा क्लब भएर पर्यटन पवर्द्धनमार्फत गाउँको विकासमा जुटेका छन् ।
क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एशियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्छन् । यति मात्र नभई गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथरमै पर्छ । ती गाउँबाट शुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँगाउँमा फैलिएको छ ।
समूहमार्फत शुरु भएको एकता अभियान पछिल्लो समयमा पर्यटन प्रवद्र्धनमा पनि जोडिएको छ । यसका लागि उनीहरु समिति नै स्थापना गर्दै अघि बढिरहेका छन् । मुलुकको कठिन परिस्थिति बाबजुत पनि लमजुङको घलेगाउँबाट ग्रामीण पर्यटनको शुरुवात भएको थियो ।
२०५७ सालमा घलेगाउँमा पहिलो पटक महोत्सवको शुरुवात गर्दै त्यही वर्षबाट अघि बढेको होमस्टे कार्यक्रम सञ्चालनमा आएको छ । घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटनको अवधारणा पछिल्लो समयमा अन्य समुदायका गाउँमा समेत फैलिएको छ ।
घलेगाउँसहित भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, छापामिम्प्रा, भुस्मे, घेर्मुलगायतका गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ । ती गाउँका स्थानीय पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक तान्न जुर्मुराएका छन् । विशेष गरी लमजुङ, डा हर्क पिक, मनास्लु हिमाललाई छर्लङ्ग देख्न तथा नियाल्न सकिने ठाउँ रहेकाले त्यहाँबाट मस्र्याङ्दी मिदिम, खुदी लगायतका नदीनाला पनि देखिन्छ ।
विश्वप्रख्यात चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइसकेका छन् । ग्रामीण पर्यटनको अवधारणा पनि गुरुङहरुबाटै शुरु भएको हो । घलेगाउँ सार्क राष्ट्रकै नमूना गाउँका रुपमा प्रख्यात छ । जुन समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा अवस्थित छ ।
घलेगाउँमा एक सय २५ घरधुरी छन् । उनीहरुले २०५६ सालमा ग्रामीण पर्यटनको अवधारण भित्र्याएर २०५७ सालबाट महोत्सव मनाउन शुरु गरेका हुन् । जिल्लाकै सबैभन्दा धेरै पर्यटक आउने यहाँ विदेशी तथा आन्तरिक पर्यटकको चाप छ ।
ग्रामीण पर्यटनबाटै स्थानीयले वार्षिक लाखौँ कमाउने गरेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पर्यटन क्षेत्रबाट राम्रो आम्दानी हुँदा घलेगाउँको स्वरुप समेत बदलिएको छ ।’ घलेगाउँमा यतिबेला ४४ घरमा घरबास (होमस्टे) सेवा सञ्चालन छ । पर्यटन व्यवसाय विस्तारै सफल बन्दै गएपछि केही विदेशीका युवा समेत गाउँमै फर्किएका पर्यटन व्यवसायमा लागेका छन् ।
यहाँ शुरुवातदेखि हालसम्म वर्षेनी जस्तै महोत्सव समेत हुँदै आएको छ । घलेगाउँ गुरुङ चलचित्रको छायाँकनस्थल समेत बनेको छ । घलेगाउँ सुखी गाउँसमेत घोषणा भइसकेको छ । क्व्होलासोथर गाउँपालिका–४ भुजुङ गाउँमा करिब पाँच सय घरधुरी गुचमुच्च भएर रहेका छन् ।
भुजुङ गाउँमा २०६४ सालबाट घरबास सञ्चालनमा आएको हो । अहिले ३२ घरबास सञ्चालनमा छन् । केही होटल समेत सञ्चालनमा छन् । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ समय समयमा यहाँ मेला तथा महोत्सव हुँदै आएका छन् । महोत्सव र पर्वले यहाँको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्दै आएको छ । भुजुङ गाउँबाट छिमेकी जिल्ला कास्कीका गुरुङ गाउँ सिक्लेस तथा ताङतिङ पनि जान सकिन्छ । यस्तै, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङ गाउँ मनास्लु हिमालको काखमा अवस्थित छ । यहाँबाट मस्र्याङ्दी नदीको नागबेली देख्न सकिन्छ ।
समुद्री सतहदेखि एक हजार छ सय ८० मिटर उचाइमा रहेको भुजुङमा आमा समूह, बाबा समूह लगायत स्थानीय निकै सक्रिय छन् । पर्यटन प्रवद्र्धनका लागि २०६२ सालयता महोत्सव गर्दै आएको छ । यस गाउँ पनि घरवास कार्यक्रम सञ्चालनमा छ ।
सिउरुङ नजिकै राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको हर्षिङडाँडा पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै गएको छ । घनपोखा गाउँ, खासुर गाउँमा समेत ग्रामीण पर्यटन प्रवद्र्धनको अवधारणा भित्रिएको छ ।
ग्रामीण पर्यटनले चिनिएको गाउँ हो, पसगाउँ । गुरुङ समुदायको बाहुल्यता रहेको यहाँ ग्रामीण पर्यटनको विस्तार गर्ने उद्देश्यले २०६० सालमा पहिलो पटक महोत्सव आयोजना गरिएको थियो ।
क्व्होलासोथर गाउँपालिका अध्यक्ष तथा पसगाउँ सामूहिक होमस्टे समितिको नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद गुरुङ लमजुङमा ग्रामीण पर्यटन अवधारण भित्र्याउन गुरुङ समुदायको ठूलो भूमिका रहेको र त्यसमाथि सबैभन्दा बढी क्व्होलासोथर गाउँपालिकाका स्थानीयको योगदान रहेको बताउनुभयो । ग्रामीण पर्यटनमा सबैभन्दा बढी होमस्टे रहेको र यसबाट समृद्धि हासिल गर्न सकिने उहाँको भनाई छ ।
पालिकाले पर्यटक आकर्षित गर्न पर्यटन पूर्वाधार पार्क, संरचना निर्माणदेखि पर्यटकको बसाइ लम्ब्याउने विषयमा ध्यान केन्द्रित गरेको छ । हाल पसगाउँमा २१ घरमा होमस्टे सञ्चालन छ । कृष्णचरित्र नृत्य, झ्याउरे नाच, सारङ्गी नृत्य, घाटुजस्ता लोपोन्मुख नृत्यका लागि पसगाउँ परिचित छ । लमजुङको पर्यटकीय ठाउँमा विस्तारै पर्यटन पूर्वाधारको विकास भइरहेको छ ।
प्राकृतिको छटा र स्थानीयको कला संस्कार संस्कृति हेर्न पर्यटक आउने गरेका छन् । पर्यटक आउँदा ग्रामीण पर्यटनको प्रवद्र्धन हुनुका साथै स्थानीयको जीवनस्तर समेत उकासिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री