+

कमलामाईमा कोरिया–नेपाल मोडेल डेरी भिलेज

सिन्धुली। कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेज उद्घाटन गरिएको छ । 

नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्त रुपमा भिलेजको मंगलबार उद्घाटन गर्नुभयो । 

भिलेज उद्घाटनमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको छ । गत वर्ष पुसमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा यहाँका ५० परिवारलाई  होलिस्टाइन गाई वितरण गरिएको थियो । त्यही मध्ये गुणकुमारी घिमिरेले पालेको होलिस्टाइन जातको गाईले जन्म दिएको ‘खाम्सा’ नामक बाच्छी कोरियाली राजदूत योङ, मन्त्रालयका सचिव पौडेल लगायतको उपस्थितिमा किसान उमा सुवेदीलाई हस्तान्तरण गरिएको हो । त्यो अभियानअन्तर्गत होलिस्टाइन जातका गाई प्राप्त गर्ने किसानले पहिलो बेतको बाच्छी उपहारस्वरुप अन्य किसानलाई दिनुपर्ने नियम छ । 

कोरियाली राजदूत योङले होलिस्टाइन जातको बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेज उद्घाटनका अवसरमा सहभागी हुन पाउँदा खुशी लागेको भन्दै सफलताको कामना गर्नुभयो । ‘नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेजको शुभारम्भ ऐतिहासिक र दुई देशबीचको सुमधुर सम्बन्धको सङ्केत हो’ उहाँले भन्नुभयो– ‘मोडेल डेरी भिलेजले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन सहयोगी भूमिका खेल्ने विश्वास छ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा पौडेलले मोडेल डेरी भिलेज एक वर्षको मेहनतको फल भएको उल्लेख गर्दै आगामी दिनमा सामूहिक सहकार्यमा जोड दिएर अघि बढ्न सुझाव दिनुभएको छ । होलिस्टाइन गाईबाट उत्पादन हुने दूधको बजारीकरण लगायतका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको उहाँको भनाई छ ।  ‘कमलामाई नगरपालिकाका–४ र ५ मा जस्तै होलिस्टाइन जातका गाई अन्य स्थानमा पनि विस्तार गर्नुपर्छ । यसका लागि मन्त्रालय सहयोग गर्न तयार छ’ सचिव डा पौडेलले भन्नुभयो– ‘दूध बिक्री र दुग्घजन्य वस्तुको उत्पादन गर्नेगरी आवश्यक तयारी शुरु गर्नुपर्छ ।’  

कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले होलिस्टाइन जातको गाईपालन विस्तार गर्दै लैजाने र उत्पादित दूधलाई बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो । ‘कोरिया सरकार, हेफर इन्टरनेशनललगायत सङ्घसंस्था र स्थानीय किसानको प्रयासबाट मोडेल डेरी भिलेजको अवधारणाले मूर्तरुप लिएको हो’ उहाँले भन्नुभयो – ‘होलिस्टाइनजस्ता उन्नत जातका गाईपालनबाट यहाँका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।’

कमलामाई–४ र ५ मा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालन गरिएको हो । नेपाल सरकार र हेफरको माग तथा सक्रियता, कोरिया सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने उक्त परियोजना गत आर्थिक वर्ष २०७९÷८० देखि शुरु भएको हो ।

दुग्ध क्षेत्र रुपान्तरणका लागि कोरियाले नेपाल सरकारलाई प्रतिबेत १० हजार लिटरसम्म दूध उत्पादन क्षमता भएका गाईबाट जन्मेका एक सय शुद्ध होलिस्टाइन कोरली बाच्छी र आठ उच्च प्रजननमान भएका होलिस्टिन बहर उपलब्ध गराएको थियो । सोमध्ये कमलामाई नगरपालिकाका ५० किसानलाई ८० गाई वितरण गरिएका थिए । 

हाल ५० परिवारमा ती गाई वितरण गरिए पनि आगामी पाँच वर्षमा पाँच सय किसानलाई ती कोरली गाई वितरण गरिने छन् । कोरिया सरकारले गत वर्ष पुसमा एक सय बाच्छी र आठ बाच्छा उपलब्ध गराएको थियो । कृषि मन्त्रालयले बाच्छालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाएको थियो भने ८० गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै