
काभ्रे । भुम्लु गाउँपालिकाका बासिन्दामा कुलो र पुल निर्माण भएपछि खुशीयाली छाएको छ। गाउँपालिकाको वडा नम्बर ५ स्थित घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ।आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि किसान निकै खुशी भएका छन्।
२०४१ सालमा कुलो निर्माण गर्दा पहरा फुटाउन ब्लाष्टिङ गरेको सम्झँदै स्थानीय रामजी श्रेष्ठले अहिले पक्की सिँचाइ कुलो बनेपछि निकै खुशी भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो सिँचाइ कुलोका लागि यसअघि धेरै मेहनत गरियो, अब पक्की नालासहित आयोजना निर्माण भएको छ, हामी निकै खुशी छौँ ।’ दीर्घकालीनरुपमा खेतसम्मै आयोजना सम्पन्न भएपछि थुम्की, अर्चले, घट्टेखोला, देवलडाँडा, मुलाबारी फाँटका करिब दुई हजारभन्दा बढी घरपरिवारका किसान लाभान्वित हुने जनाइएको छ ।
बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजित ९० लाख रकमको घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना हालै सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष ८१ वर्षका कृष्णवीर लामा वृद्ध उमेरमा पनि युवा जोसका साथ योजना सम्पन्न गराउन लागि पर्नुभएको छ । ‘सिँचाइ आयोजना दीर्घकालीन बनाउन घट्टेखोला क्षेत्रमा बलियो बाँध बाध्नका लागि मन्त्रीलाई प्रस्तावसमेत गरिसकेको छु’ लामाले भन्नुभयो । करिब नौ सय मिटरको पक्की कुलो दीर्घकालीन रुपमा सञ्चालन भइरहेकाले किसानमा पानीको चिन्ता हटेको उहाँले बताउनुभयो ।
२०४१ सालमा घट्टेखोलाबाट मुलाबारीसम्म सिँचाइ कुलो बनाउँदा तत्कालीन प्रधानपञ्चसमेत रहनुभएका लामा हाल उपभोक्ता समितिका अध्यक्ष बन्नुभएको हो । त्यतिबेला विश्व श्रम सङ्गठन (आइएलओ) लगातयका निकायबाट पाएको ३ लाख सहयोग र स्थानीय जनश्रमदानसहित कुलो बनाउँदाको मेहनत अझै ताजै रहेको लामा बताउनुहुन्छ । ‘त्यसबेला बनाएको कच्ची कुलो विस्तारै पुरिँदै, चुहिँदै गयो, परसम्म पानी पुग्नै छोड्यो, किसानलाई निकै मर्का भएपछि अहिले प्रदेश सरकारको सहयोगमा पक्की कुलो बनेको छ, हामी अत्यन्त खुशी भएका छौँ’ लामाले खुशी व्यक्त गदै भन्नुभयो ।
भुम्लु–५ मा नै बोसेखोला–ताइखेत सिँचाइ योजना सञ्चालन गरिएको छ । ६ सय २५ मिटर पक्की नाला निर्माण गरेर ल्याइएको सिँचाइ आयोजनाबाट यहाँका नारघाङ लगायतका फाँटमा सिँचाइ हुने जनाइएको छ । यस अयोजनाबाट करिब एक सय ५० परिवार यसबाट लाभान्वित हुनेछन् । गाउँपालिका उपाध्यक्ष जीतेन्द्रमान तामाङका अनुसार भुम्लुमा १४ करोड ५० लाख रुपैयाँ बराबरको खानेपानी तथा सिँचाइका आयोजना कार्यान्वयनमा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षका योजनामा छुटेका केही योजनाबारे आगामी आर्थिक वर्षमा समावेश गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा हाल काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेका खानेपानी तथा सिँचाइका योजनामा निरीक्षण गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ– ‘आयोजनाका कामको गुणस्तर, लाभान्वित किसानको प्रतिक्रियाले आफूलाई सन्तुष्टि मिलिरहेको छ ।’
भुम्लु–९ चालिसेटारस्थित चाखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । गाउँपालिकाको ४२ लाख रुपैयाँ र जनसहभागितामा अरनिको राजमार्गस्थित चालिसेटारबाट चुल्ठेडाँडा जोड्ने पुल निर्माण भएको हो । त्यो स्थानमा पुल नहुँदा स्थानीयले वर्षामा निकै सास्ती खेप्दै आएका थिए । वर्षाको समयमा तरकारी बोकेर किसान, विद्यालय जाने बालबालिका र स्थानीय ५२ किलोस्थित झोलुङगे पुलसम्म पुग्न बाध्य हिँड्नुपरेको थियो ।
स्थानीय अष्टमाया लामाले गाडी नै चल्ने पुल बनेपछि निकै खुशी लागेको बताउनुभयो । ‘घाँस काटेर फर्कंदा वर्षाले खोलो बढेर आउथ्यो, तर्न नसकेपछि खोलाकै अर्को छेउ हिँडेर दुई/तीन घण्टा लगाएर घर पुग्नुपथ्र्यो, खब निकै खुशी छौँ’ लामाले भन्नुभयो । स्थानीय समाजसेवी गोविन्द पराजुली उक्त खोलाको बाढीका कारण घर जाँन नसक्दा सडक बारीमा नै बास बस्नुपरेको घटना सुनाउनुहुन्छ । ‘बाढीले घर जान नसक्दा बारी नै बास बसेका कैयौँ घटना स्मरण छन्’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति