
इलाम । इलामको ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बीचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको हो ।
पर्यटकलाई ऐनापोखरीसम्म पुग्न सहजताका लागि चुलाचुली गाउँपालिकाले मोटरेबल सडक निर्माण गरेको छ । अन्य पूर्वाधारका कामसमेत क्रमशः गर्दै लैजाने योजनामा रहेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । ऐनापोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा महोत्सवले सहयोग पुग्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।
आजदेखि ऐनापोखरी पर्यटन महोत्सव
यसैबीच आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चुलाचुली गाउँपालिकामा आजदेखि ऐनापोखरी पर्यटन महोत्सव आयोजना हुँदैछ । चुलाचुली ऐनापोखरी संरक्षण तथा श्रम पार्कको आयोजनामा चुलाचुली–३ र ४ को सङ्गमस्थलमा महोत्सव आयोजना हुन लागेको हो ।
यही फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खेलकुद प्रतियोगिताका साथै स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने आयोजक समितिका अध्यक्ष कैलाश थुलुङले बताउनुभयो ।
महोत्सवमा आदिवासी लिम्बू, राई, कुमाल, नेवार, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो । “यहाँका आदवासी भूमिपुत्रहरूको मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न प्रयत्न गर्नेछौँ । यसका लागि सातै दिन अलगअलग कार्यक्रम तय गरिएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक दिन फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ ।”
महोत्सवमा लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्यको सङ्गिनीलगायत प्रस्तुत गरिने जनाइएको छ ।
चुलाचुली गाउँपालिका आदिवासी लिम्बू र राई जातिको बाहुल्यता भएको गाउँपालिका हो । महोत्सवमा पर्यटकलाई रैथाने आदिवासी जनजातिको परिकार चखाउनेसमेत आयोजकको लक्ष्य छ । महोत्सवमा कोदोको ढिँडो र रोटी, गुन्द्रुकको अचार, वाचिपा, केरा, सिमलतरुल र त्यहाँबाट उत्पादन हुने विभिन्न परिकारको स्वाद चाख्न पाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति