
बागलुङ। जैमिनी नगरपालिकाले गाउँ–गाउँमा पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले समयसमयमा शिविर सञ्चालन गरेर नागरिकलाई सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको हो ।
दूरदराजका ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरु उपचारका लागि अस्पताल वा स्वास्थ्य चौकी नजाने भएकाले पालिकाले गाउँमै पुगेर बिरामीको खोजी गरी उपचार गरिरहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । आर्थिक अभावका कारण सबै नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिन नसक्ने अवस्था रहेकाले महिनामहिनामा गाउँ पुगेर निःशुल्क शिविर सञ्चालन गरिरहेको उहाँको भनाई छ ।
नगरपालिकाले माघमा मात्रै तीन वटा विशेषज्ञ डाक्टरसहितको शिविर सञ्चालन गरेको छ । उपप्रमुख शर्माले माघ पहिलो साता पालिका केन्द्र कुश्मिसेरामा दुई दिने स्वास्थ्य शिविर, दोस्रो साता वडा नं ७ र ८ का नागरिकलाई लक्षित गरी छिस्तीमा छालारोग सम्बन्धी शिविर सम्पन्न गरेको जानकारी दिनुभयो ।
आइतबार वडा नम्बर २ र ३ लाई लक्षित गरी दमेक स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको शर्माको भनाइ थियो । कोही पनि नागरिक आर्थिक अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भने गत वर्षदेखि गाउँगाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो ।
‘हरेक नगरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्यले नगरपालिका लागिपरेको छ । सीमित स्रोत साधानकाबीच पनि हामीले सबै नागरिकलाई शिविर सञ्चालन गरेर विशेषज्ञ सेवा दिइरहेका छौँ । सबै ठाउँमा विशेषज्ञ डाक्टर राखेर नियमित सेवा दिन सकिने अवस्था नभएकाले शिविर सञ्चालन गरेका हौँ’ उपप्रमुख शर्माले भन्नुभयो– ‘शिविरमार्फत पालिकाका सबै वडामा पुगेर सेवा दिइरहेका छौँ ।’
पोखरा, बागलुङलगायतका अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरलाई लिएर गाउँ–गाउँमा शिविर सञ्चालन भइरहेको शर्माको भनाई छ । उहाँका अनुसार डा ओमकुमार श्रेष्ठ, बालरोग विशेषज्ञ किरण शर्मा, स्त्रीरोग विशेषज्ञ विष्णु पालिखे, फिजिसियन सरोजचन्द्र बराल लगायतको टोलीले शिविर मार्फत सेवा दिइरहनुभएको छ ।
शिविरलाई स्वास्थ्य कार्यालय बागलुङले निरन्तर सहयोग गर्दै आएको शर्माले बताउनुभयो । शिविरमार्फत प्रजनन् स्वास्थ्य, पाठेघरको परीक्षण, भिडियो एक्सेर, पाठेघर तथा स्तन क्यान्सरको परीक्षण, बाल रोगलगायत बिरामीको स्वास्थ्य परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘गम्भीर रोगका बिरामीलाई समयमै उपचारका लागि सुझावसमेत दिने गरिएको छ’ उहाँले भन्नुभयो ।
वडा नम्बर २ की ७२ वर्षीया लीलादेवी सापकोटाले आफू लामो समय बिरामी रहेको सुनाउँदै गाउँमा डाक्टर आएर सेवा दिएपछि उपचार पाएको बताउनुभयो । वर्षौँ अगाडि पाठेघरको शल्यक्रिया गरेको भन्दै अस्पताल टाढा हुँदा नियमित जाँच गर्न नपाएको उहाँले बताउनुभयो ।
गाउँमा धेरै बुढाबुढी बिरामी रहेको भन्दै डाक्टरले गाउँमा आएर सहज रुपमा स्वास्थ्य परीक्षण गरी उपचार गरेको सापकोटाको भनाइ थियो । ‘सामान्य रोगको उपचार गाउँका स्वास्थ्य चौकीमा गराउने गरेका थियौँ । जटिल खालको रोग लाग्यो भने बागलुङ, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो’ उहाँले भन्नुभयो– ‘अहिले नगरपालिकाले हाम्रै गाउँमा ठूला डाक्टर लिएर घरमै उपचार सेवा दिँदा समय र खर्चको सदुपयोग भएको छ । स्थानीय सरकारले जनताको भावना बुझ्न थालेको छ ।’
स्थानीय पशुपति सापकोटाले विशेषज्ञ डाक्टरसहित शिविरमार्फत गाउँका धेरै नागरिक लाभान्वित भएका बताउनुभयो । पहिलेको तुलनामा पछिल्लो समय जैमिनी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै थप दक्ष जनशक्तिसहित स्वास्थ्य चौकीमा व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा