+

अमेरिकी विदेशमन्त्री युद्धविरामबारे छलफल गर्न इजरायलमा

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युद्धविरामबारे छलफल गर्न  इजरायल पुग्नुभएको छ ।  प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न ब्लिन्केन बुधबार इजरायल पुग्नुभएको हो । 

साउदी अरबा, इजिप्ट र कतारपछि मध्यपूर्वको भ्रमणका क्रममा उहाँले इजरायलमा नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । द्वन्द्वको सुरुमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको कतारले हमासले युद्ध रोक्नका लागि नयाँ प्रस्तावित सम्झौताको जवाफ दिएको बताएको छ ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले ब्लिन्केनसँग दोहामा भएको भेटपछि भन्नुभयो– ‘जवाफमा केही थप माग समावेश भएपनि यो सकारात्मक छ ।’

ब्लिन्केनले हमासको जवाफ इजरायलसँग ‘साझा’ भएको र बुधबार त्यहाँ छलफल गर्ने बताउनुभएको छ । उहाँले अझै धेरै काम गर्न बाँकी रहेको तर सम्झौता सम्भव छ र वास्तवमै आवश्यक छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । 

इजरायली गुप्तचर संस्था मोसादले पनि हमासको जवाफ प्राप्त गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ । नेतन्याहूले मङ्गलबार भन्नुभयो– ‘हामी पूर्ण जितको बाटोमा छौं र हामी रोकिने छैनौं ।’

इजिप्टसँग जोडिएको गाजाको दक्षिणी सीमामा रहेको राफा शहरतर्फ इजरायली सेनाले आक्रमण गरेपछि युद्धविरामका लागि दबाब बढेको छ । संयुक्त राष्ट्रसङ्घीय सहायता समन्वय कार्यालय ओसीएचएका प्रवक्ता जेन्स लार्कले भन्नुभयो– ‘स्पष्ट रूपमा भन्नुपर्दा, यस अवस्थामा राफामा हुने सम्भावित कारबाहीले ठूलो मात्रामा नागरिकको ज्यान लिन सक्छ र यसबाट बच्न हामीले आफ्नो शक्तिले भ्याएसम्म सक्दो प्रयास गर्नुपर्छ ।’

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणका कारण करिब १ हजार १ सय ६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीबाट पुष्टि गरेको तथ्याङ्कले देखाएको छ ।

लडाकूले करिब २५० बन्धकलाई कब्जामा लिएकोमा गाजामा १३२ जना अझै बाँकी रहेको र कम्तीमा २७ जना मारिएको अनुमान इजरायली स्रोतले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै