
काठमाडौँ । निर्माणाधीन बाह्रबिसे सबस्टेसन अन्तिम चरणमा पुगेको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन उच्च क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो । दुई महिनाभित्र पूरा गर्ने लक्ष्यसहित २२०, १३२ केभी क्षमताको सबस्टेसन निर्माण सक्ने गरी काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सबस्टेसनमा राखिने २२०र१३२ केभी, १६० एमभीए र १३२ र ११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर जडान भइसकेका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरण जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।
‘उपकरणको जडान धमाधम भइरहेको छ । २२०र१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै चार सय केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो ।
विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट उत्पादित विजुली यही सबस्टेसनमा जोडिने छ ।
मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीच यार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावर निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।
आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न सकिरहेको छैन । हाल मध्यभोटेकोशी जलविद्युत आयोजनाका संरचनाहरुको निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन् ।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नु पर्ने दबाबमा प्राधिकरण छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।
टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो । टोलीले मध्यभोटेकोशी जलविद्युत् आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यको जानकारी लिएको थियो ।
कार्यकारी निर्देशक घिसिङले उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । ‘सबस्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको छ । नयाँ खिम्ती–बाह्रबिसे र बाह्रबिसे लप्सीफेदी (काठमाडौँ) प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो– ‘अन्य कुनै समस्या नआएमा निर्माण आगामी २र३ महिनाभित्र सम्पन्न हुने अवस्था बनेको छ । त्यसैले सबैले आ–आफ्नोतर्फबाट अन्तिम पहल र कोसिस गरौँ ।’
बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएका चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड–१९ महामारी लगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।
प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२० र १३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । कूल २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने लाइनको काम तत्काल शुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।
कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नुपर्ने छ । बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब ३ किलोमिटर नयाँ प्रसारण लाइन बनाउनु पर्ने छ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरु आपूर्ति भइसकेका छन् । ८ टावरमध्ये ५ वटाको जग हालिसकिएको छ ।
तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेका छन् ।
तामाकोशी–काठमाडौँ २२० र ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने एक सय १८ वटा टावरमध्ये ८ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये ७ वटा टावर सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नुपर्ने छ ।
एउटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको ३० किलोमिटर तार तानिएको छ । यो खण्ड निर्माणको जिम्मा पाएको ठेकेदारले समस्या समाधान भएमा तीन महिनाभित्रमा काम सक्ने बताएको छ ।
बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४ सय केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १ सय २२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा