
जोमसोम। हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ ।
मेलामा हिमाली लेकमा पाइने बहुमूल्य जडीबुटी खाएका चौँरीको आलो रगत खाने चलन रहेको छ । यार्सागुम्बा, पाँचऔँले, निरमसी, कुटुकी, बुकी घाँस खाएर हुर्केका चौँरीको आलो रगत खाँदा विभिन्न रोग निको हुने जनविश्वास रहेको छ ।
हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको आयोजनामा सुरु भएको मेला परम्परादेखि नै चल्दै आएको छ । यस पटक आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न मेला १० दिनसम्म सञ्चालन गर्ने आयोजकको योजना छ । उपसमितिका अध्यक्ष बुद्धिरत्न तुलाचनले स्थानीय व्यापार/व्यवसायको प्रवर्द्धन र कृषकको मेहनतलाई थप टेवा पुग्ने हिसाबले बर्सेनि मेला आयोजना गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार मेलामा गण्डकी प्रदेशका धेरै जिल्ला र विशेषगरी म्याग्दीबाट मानिस आउने गरेका छन् । मेलामा एक गिलास चौँरीको रगतको मूल्य रु तीन सय तोकिएको छ ।
मेलाको पहिलो दिन आज करिब २०० बढी मानिसले चौँरीको रगत पिएको आयोजकले जनाएको छ । यसको सेवनले शरीरमा हुने विभिन्न किसिमका रोग निको हुने जनविश्वासका कारण पनि यसको महत्व बढ्दै गएको तुलाचनको ठम्याइ छ । “मेलालाई परम्परागत रूपमा अगडि बढाई स्थानीय कृषकको व्यापार/व्यवसायमा पनि थप मद्दत गर्नेछौँ । यहाँ आउने बिरामी, अशक्त र पाहुनाका लागि खान र बस्नको कुनै पनि समस्या छैन”, उहाँले भन्नुभयो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङका देउबहादुर गर्बुजाले विगत छ वर्षदेखि नियमित रूपमा मेलामा सहभागी भई चौँरीको रगत पिउँदै आएको र यसले ग्यास्ट्रिक, गानो दुख्ने र हाडजोर्नीलगायत समस्या निको भएको सुनाउनुभयो । मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु निवासी बिसन पुर्जाले पनि नियमित रुपमा चौँरीको आलो रगत पिउँदै आउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “चौँरीको आलो रगत पिउने कार्य पुरानो जनविश्वास रहे पनि यसको सेवनपश्चात् आफूलाई धेरै राम्रो गरेको छ ।”
मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गतका लेकहरू मुलि, ह्याङ्देन, खल्क्यु, बतासेडाँडा, सानुसरेपहाड, छाक्ताङ, मार्चे र नुप्साङमा हुर्के बढेका याक नाक/चौँरीहरूको पालैपालो रगत निकालेर बिक्री गरिनेछ । उपसमितिअन्तर्गतका १० जना कृषक समूहमा करिब ७०० चौँरी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन