
काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ ।
प्रधानमन्त्रीलाई प्रतिवदेन बुझाएपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उच्चस्तरीय छानबिन समितिका संयोजक टंकमणि शर्माले एनसेल शेयर खरिद बिक्रीमा अध्ययन गर्न बनेको समितिले थप छानबिन गर्नेगरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको बताउनु भयो ।
उहाँले एनसेलको पटकपटक शेयर खरिद बिक्री हुँदा राज्यका कतिपय निकायहरुले आफ्नो जिम्मेवारी पालना नगरेको देखिएकाले थप छानबिन गर्न सिफारिस गरिएको बताउनु भयो । समितिले छानबिन र अनुसन्धान गर्दा पटकपटक शेयर खरिद बिक्रीका क्रममा स्रोत नखुलेको सम्पती प्रयोग भएको आशंका रहेको भन्दै संलग्नहरुमाथि सम्पती शुद्धीकरणको पाटोमा अनुसन्धान गर्न सिफारिस गरिएको बताउनु भयो ।
उहाँले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाले नेपालमा लगानीको वातावरण छैन भनि दिएको प्रतिक्रिया सत्यता नभएको बताउनु भयो ।
उहाँले एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने कर गैरकर गरी ८५ अर्ब रुपैयाँ बराबरको कर छलि गरेको अध्ययनले देखाएको पनि बताउनु भयो । उहाँले आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रालाइट युकेबीच १ डिसेम्बर २०२३ मा भएको एनसेल आजियाटाको शेयर खरिद बिक्री सम्झौता स्वतन्त्र ढङ्गले भएको स्वभाविक सम्झौता मान्न सकिने नदेखिएको बताउनु भयो । उहाँले एनसेलको हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद बिक्री भएकोमा ती खरिद बिक्रीमा धेरैजसो कारोबारहरू नेपालबाहिर नै अफसोर्सरूपमा भएको देखिएको बताउनु भयो ।
उहाँले कतिपय नेपाली शेयरधनीहरूको कारोबारको भुक्तानी नेपालको बैंकिङ्ग प्रणालीबाट नभई देशबाहिर समेत भएको देखिएको बताउनु भयो ।
एनसेल आजियाटाको अधिकांश शेयर खरिद बिक्री सम्बन्धमा प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएको नदेखिएको तथा हालसम्म आजियाटा गु्रप बहार्ड मलेसिया र स्प्रेक्ट्रलाइट युकेबीचमा भएको भनिएको शेयर खरिद बिक्री सम्झौता स्वीकृतिको लागि कानूनबमोजिम प्रक्रियासम्मत रूपमा निवेदन पेश भएको नदेखिँदा खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको श्रोत र कम्पनीका सञ्चालकको व्यावसायिक पृष्ठभुमिका विषयमा अदालतका आदेशहरू समेतलाई अध्ययन गरी आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिएको बताउनु भयो ।
समितिले दूरसञ्चार ऐन, २०५३ को दफा ३३ को उपदफा ९१० बमोजिम अनुमति पत्रको २५ वर्षको अवधि समाप्त भएपछि जम्मा पुँजी लगानीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र उपकरण तथा संरचनामा नेपाल सरकारको स्वामित्व हुने भएकोले सोको सुनिश्चितता हुनेगरी आवश्यक शर्तहरू राख्नुपर्ने सुझाव दिएको छ ।
सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य हुनुहुन्थ्यो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन