
काठमाडौँ । मन्त्री उपस्थित नहुँदा संसदीय समितिको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबारको बैठक मन्त्री उपस्थित नहुँदा स्थगित गरिएको हो ।
समितिको बैठक शुक्रबार बिहान १० बजे बोलाइएको थियो । बैठकको कार्यसूची थियो- अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल र विविध । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपसभामुख एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहित सांसदहरु बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकको सुरुमा सांसद सुमना श्रेष्ठले विधेयकमाथिको संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो । सभापति राजकिशोर यादवले उक्त विधेयकको दफाबार छलफलका लागि समितिका सचिव बबिता मिश्रलाई अनुमति दिनुभयो । सचिव मिश्रले विधेयकको पहिलो दफा पढेर सहमतिका लागि प्रस्तुत गर्नुभयो । तालिकासाथ सांसदहरुले पहिलो दफा पारित भएको जनाउ दिनुभयो ।
त्यत्तिकैमा नेकपा एमालेका सांसद रघुजी पन्त बैठक हल प्रवेश गर्नुभयो । बैठक सुरु भइसकेपछि केही ढिलो गरी उपस्थित हुनुभएका नेता पन्तले पनि आफ्नो विधेयक उपरको संशोधनका बुँदा पढेर सुनाउनुभयो । उहाँले आफ्नो कुरा राखिसकेपछि बैठकहलको चारैतिर नजर लगाउनुभयो ।
विभागीयमन्त्री नदेखेपछि सांसद पन्तले पूर्वप्रधानमन्त्री र वरिष्ठ नेतालगायतको उपस्थिति हुँदा बैठकमा मन्त्री उपस्थिति नहुने अवस्थामा बैठक चल्न सक्दैन भन्नुभयो । उहाँले समितिको बैठकलाई बेवास्ता गर्न नमिल्ने जिकिर गर्नुभयो । त्यसपछि सभापति यादव केहीबेर अकमकिनुभो ।
राष्ट्रियसभाको निर्वाचनको सन्दर्भमा धेरै सांसद काठमाडौँबाहिर भएकाले बैठकमा छलफल गर्दै गर्ने भन्ने उद्देश्यले बैठक बोलाइएको सभापति यादवले उल्लेख गर्नुभयो ।
आजको छलफलको विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित थियो । जसअनुसार पर्यटनमन्त्री बैठकमा उपस्थिति हुनुपर्ने थियो । तर, आजको बैठकमा मन्त्रीलाई नबोलाइएको समितिले जनाएको छ ।
यत्तिकैमा बैठकमा सहभागी सांसदहरु कानेखुसी गर्न थाल्नुभो । सांसद पन्तले बैठकमा गणपूरक सङ्ख्या पनि नपुगेकाले यो बैठक स्थगित हुनुपर्छ भनेर माग गर्नुभयो । सभापति यादवले केहीबेर सम्झाउने प्रयास गर्नुभयो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि सांसदको सहमतिमा बैठक सञ्चालन हुँदै गर्दा गणपूरक पु¥याएर अगाडि बढ्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ हेड काउन्ट’ गरेर मात्रै हुँदैन, पहिले अनुमति लिएर म उपस्थित हुन्छु है भनेर पनि बैठक सहमतिमा सञ्चालन गर्न मिल्छ, तर यस्तो विषयमा मन्त्री उपस्थिति हुनुपर्छ ।”
सांसद पन्तले आफ्नो अडान नछाडेपछि सभापति यादवले बैठक स्थगित भएको घोषणा गर्नुभयो । प्रतिनिधिसभा नियमावली, २०७९ मा समितिको गणपूरक सङ्ख्या नपुगेमा समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मका लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था छ । समितिको बैठक लगातार दुईपटक गणपूरक सङ्ख्या नपुगेमा कम्तीमा एक तिहाइ सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने र सोको जानकारी सभापतिले सभामुखलाई दिनुपर्ने व्यवस्था छ ।
समितिमा कूल २७ सांसद हुनुहुन्छ । आजको बैठकमा ९ जना सांसद मात्रै सहभागी हुनुहुन्थ्यो । समितिका सचिव बबिता शर्माका अनुसार आजको बैठकमा विभागीय मन्त्रीलाई बोलाइएको थिएन । बैठकमा विभागीय मन्त्रालयका सचिवहरुको उपस्थितिमा विधेयकको छलफल अघि बढाउने उद्देश्यले बैठक तोकिएको थियो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयका सहसचिवको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन
- शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना