
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ झमादीकी सुकमाया नेपालीको गोठमा अहिले कुल ३८ बाख्रा छन् । त्यसमा १५ माउ र छ ठूला बोका छन् ।
एकपटक वैदेशिक रोजगारीमा गएका छोरा आमाको व्यवसायबाट लोभिनुभयो । अहिले उहाँका छोरा पनि स्वदेशमा आमासँगै बाख्रापालन गरिरहनुभएको छ ।
पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालनमा लागेकी नेपालीले पछिल्लो समय बाख्राको सङ्ख्यामा वृद्धि गर्नुभएको छ । ‘घरखर्च चलाउन निकै सहज हुने रहेछ’ उहाँले भन्नुभयो । बाख्राबाट मात्रै वार्षिक रु तीन लाख आम्दानी हुने उहाँको भनाइ छ । बाख्रापालनबाट नियमित आम्दानी हुन थालेपछि दैनिक काममा निकै सहजता आएको सुकमाया बताउनुहुन्छ ।
त्यही ठाउँकै २८ वर्षीया खुमा पुनले पनि १४ बोका, १८ माउ र अन्य पाठापाठी गरी ४८ बाख्रा पाल्नुभएको छ । उहाँलाई बाखापालनमा श्रीमान् र सासूआमाको साथ छ । ‘पहिले–पहिले यो पेसाप्रति खासै विश्वास लाग्ने थिएन’ उहाँले भन्नुभयो– ‘अहिले आम्दानी वृद्धि हुँदै गएपछि पेसाप्रति आत्मविश्वास बढेको छ ।’
आफ्नो नियमित आम्दानीको स्रोत भएपछि गाउँमा ऋण लिन एवं घर व्यवहार चलाउन सहज हुने पुनको अनुभव छ । ‘पहिले–पहिले कसैसँग पैसा सापटी माग्दा पनि नपाउने स्थिति थियो, अहिले धेरैथोरै कारोबारमा समस्या छैन’ उहाँले भन्नुभयो । उहाँले बाख्राका लागि आवश्यक उन्नत जातको घाँस पनि लगाउनुभएको छ ।
त्यही ठाउँकै शिला नेपालीले पनि आइतबार बाख्राको पाठी उपहार पाउनुभयो । रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित रुरु कृषि परियोजनामार्फत गठन भएको मूल समूहबाट पाठी प्राप्त गर्नुभएकी उहाँले बाख्रापालन व्यवसायलाई वृद्धि गर्दै लैजाने बताउनुभयो । रुरुक्षेत्र गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा नवप्रभात युवा सङ्घको सहजीकरणमा रुरुक्षेत्रभर ‘रुरु कृषि परियोजना’ सञ्चालनमा छ । त्यसमा पहिलो चरणको कार्यक्रम मूल समूह र दोस्रो चरणको कार्यक्रम उपहार समूह हो ।
‘समूहमा आबद्ध हुन पाउँदा धेरै खुशी छु, यसले आयआर्जनका साथै नेतृत्व विकासका कार्यक्रमसमेत सञ्चालन गर्छ’ नेपालीले भन्नुभयो– ‘व्यावसायिक बाख्रापालन गरी आम्दानी वृद्धि गर्ने लक्ष्य रहेको छ ।’ रुरु कृषि परियोजनाबाट घाँसको बीउ प्राप्त गर्नाका साथै बाख्रालाई दाना बनाउने लगायतका सीप सिकेको उहाँको भनाइ छ ।
वार्षिक चार करोडका खसी बोका निर्यात
रुरुक्षेत्रभर सञ्चालन भएको परियोजनाबाट ७७ समूहमा दुई हजार चार सयभन्दा बढी महिला आबद्ध छन् । परियोजनाले खासगरी उन्नत नस्लका बाख्रा वितरण, तरकारी, उखु, फलफूल र दुग्ध उत्पादनमा काम गर्दै आएको परियोजना संयोजक प्रकाश चालिसेले बताउनुभयो ।
्परियोजनाले पहिलो चरणमा मुल समूहमा आबद्ध महिलाहरुलाई पाँच सय ८५ बाख्रा वितरण गरेको थियो । गत वर्षको चैतबाट सुरु भएको परियोजनाको अवधि २६ महिनाको रहेको छ । अहिले गाउँपालिकाभरी कुल आठ हजार माउ बाख्रा र दुई हजार पाँच सय ठूला खसीबोका रहेको चालिसेको भनाइ छ । विगत एक वर्षमा गाउँपालिकाबाट रु चार करोड बराबरका खसीबोका गाउँपालिकाभन्दा बाहिर निर्यात भएका छन् । समग्रमा रुरुक्षेत्रमा व्यावसायिक बाख्रापालनबाट महिलाहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको छ ।
गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषि, पशुपालन र पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने पालिकाको लक्ष्य रहेकोले परियोजना सञ्चालन गरेको बताउनुभयो । ‘मासुको मूल्य र बजारीकरणको समस्या छैन’ अध्यक्ष ज्ञवालीले भन्नुभयो, १बाख्रापालनमार्फत महिलाहरुको आर्थिक जीवनस्तर उकास्ने लक्ष्य लिएका छौँ ।’
अध्यक्ष ज्ञवालीले आर्थिक रुपमा सम्पन्न भएमा अधिकांश समस्या समाधान हुने भएकाले महिलालाई बाख्रापालनमा सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु